न्यूज टुडे
राजविराज,१४ चैत ।
मधेसवादको प्रणेता गजेन्द्र नारायण सिंह को ९७औँ जन्मजयन्ती सप्तरीसहित देशभर विविध कार्यक्रमको आयोजना गरी श्रद्धापूर्वक मनाइएको छ। राजविराज स्थित गजेन्द्र चोकसहित सिंहको शालिकमा शुक्रबार माल्यार्पण गर सिंहको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो ।
मधेश आन्दोलनका अग्रणी नेता तथा प्रजातान्त्रिक संघर्षका महत्वपूर्ण व्यक्तित्व सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न स्थानमा स्मरण सभा, विचार गोष्ठी तथा माल्यार्पण कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त अवसरमा राजविराज स्थित गजेन्द्र नारायण सिंहको शालिकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माल्यार्पण गर्दै वहाँको योगदानको उच्च सम्मान गरे ।
उनले सिंह मधेशी समुदायको पहिचान, अधिकार र समानताको मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न खेलेको भूमिका ऐतिहासिक रहेको भन्दै स्मरण गरे ।
कार्यक्रममा पूर्व मन्त्री उमेश यादव, अनिष अन्सारी, सिताराम मण्डल, जसपा जिल्ला अध्यक्ष केदार यादव, सुनिल झा, युवा नेता दिपेन्द्र चौधरी, शम्भु कुमार यादव, दिनेश यादव, विपिन कर्ण लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले गजेन्द्र नारायण सिंहले देखाएको राजनीतिक मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । वि.सं. १९८५ सालमा जन्मनुभएका सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनका एक सशक्त स्तम्भका रूपमा परिचित थिए।
उनले आफ्नो सम्पूर्ण राजनीतिक जीवन मधेशी समुदायको हकहित, पहिचान र समान प्रतिनिधित्वका लागि समर्पित गरेका थिए। समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अधिकारका पक्षमा उनको योगदानलाई नेपाली राजनीतिमा विशेष महत्वका साथ स्मरण गरिन्छ
सिंह नेपाल सद्भावना पार्टीका संस्थापकसमेत थिए। उनले स्थापना गरेको उक्त पार्टीले मधेशी समुदायको राजनीतिक आवाजलाई सशक्त बनाउँदै राष्ट्रिय राजनीतिमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
जन्मजयन्तीको अवसरमा देशका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा स्मरण कार्यक्रमहरू आयोजना गरिएको थियो । विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले उनीप्रति सम्मान प्रकट गर्दै उनको योगदानको चर्चा गरेका छन्।
वक्ताहरूले गजेन्द्र नारायण सिंहले उठाएका मुद्दाहरू—समानता, समावेशिता र अधिकार—अझै पनि पूर्ण रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनको विचार र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा सहभागीहरूले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका विचार र योगदानलाई आगामी पुस्तासम्म पुर्याउनु आजको आवश्यकता रहेको बताए ।