मुश्लिम धर्मावलम्बीहरुको महान पर्व इद ( रमजान) को अवसरमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ जण्डोल स्थित इदगाहामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोग तथा स्थानीय इदगाहा व्यवस्थापन समितिको आयोजनामा इद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
इदगाहाको अबलोकन गर्दै कार्यबाहक अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना चौधरीले नेपालमा विभिन्न जातजातिले मनाउने साँस्कृतिक पर्वले सामाजिक सद्भाव र भाइचारा बढाउने विश्वास व्यक्त गरिन । मुश्लिम धर्मावलम्बीले मनाउने इद पर्वले नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजाति वीचको धार्मिक सामाजिक सम्बन्ध थप उच्च बनाउने दावी गर्दै उनले इद पर्वले मुश्लिम समुदायसहित सम्पुर्ण नेपालीमा सुख, शान्ति र खुशी ल्याओस भन्दै शुभकामना व्यक्त गरिन ।
उनले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले सबैजाती समुदायको धार्मिक तथा साँस्कृतिक पर्वको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक बजेट र नीति ल्याएको बताइन् ।
देशमा मनाइने सबै चाडपर्वको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वलाई समान रुपमा उच्च सम्मान दिदै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरीन ।
इदगाहाका मौलना सतारको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु तथा मुश्लिम धर्मावलम्बीहरुको उपस्थिति थियो ।
चौधरीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेसंगै विभिन्न जातजाति तथा धर्मावलम्बीले मनाउने पर्वलाई महत्वका साथ सहयोग गर्दै सक्रिय सहभागिता जनाउँदै आएकी छिन् ।