• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खोटाङमा हेलिकोप्टर दुर्घटना : एकजना घाइते

खोटाङमा हेलिकोप्टर दुर्घटना : एकजना घाइते
न्यूज टुडे
राजविराज,०४ चैत ।
काठमाडौंबाट उडेको एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको ९एन–एएफक्यु हेलिकोप्टर खोटाङमा बुधबार दुर्घटना भएको छ ।  मध्यान्ह ११ः५१ बजे केपिलासगढी गाउँपालिका–२ अन्तर्गत खार्ताम्छाको बेलाबेसीस्थित हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको हो।
अवतरणकै संवेदनशील क्षणमा हेलिकोप्टर पल्टिँदा एक यात्रु घाइते भएका छन् भने अन्य यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेको खोटाङ प्रहरीले जनाएको छ । 
दुर्घटनामा काठमाडौँ निवासी काजीबहादुर राई घाइते भएका छन्। उनको दाहिने खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते काजीबहादुर राईलाई कम्पनीकै अर्को हेलिकोप्टर मार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। अन्य यात्रुहरू र पाइलट सबिन थापा भने सुरक्षित छन्।
बिहान करिब ११ बजे पाँच जना यात्रु बोकेर काठमाडौँबाट उडेको उक्त हेलिकोप्टर अवतरणको अन्तिम चरणमा असन्तुलित हुँदै पल्टिएको प्रारम्भिक विवरणमा प्राप्त भएको प्रहरीको भनाइ छ। 
हेलिकोप्टरमा नागमणि राई, उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए। प्रहरीका अनुसार उनीहरू आफ्नी आफन्त मनमछी राईको मृत्यु पश्चात अन्तिम संस्कारका लागि हेलिकप्टर चढेर आएका थिए। 
शव भने हेलिकोप्टरमा अटाउन नसकेपछि छुट्टै शववाहनमार्फत पठाइएको र भोलिपल्ट मात्र खोटाङ पुग्ने प्रहरीले जानकारी दिइएको छ।
दुर्घटनाको प्रारम्भिक कारणबारे कम्पनीले तीव्र हावा र धुलोका कारण दृश्यता प्रभावित हुँदा सन्तुलन बिग्रिएको हुनसक्ने अनुमान गरेको छ। कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितका अनुसार अवतरणका बेला हावाको गति उच्च हुनुका साथै धुलो उडेकाले पाइलटले देख्न नसकेको हुनसक्छ। यद्यपि दुर्घटनाको यथार्थ कारण प्राविधिक जाँचपछि मात्र खुल्ने बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हेलिकोप्टर अवतरणका क्रममा पल्टिएको पुष्टि गर्दै एक जना बाहेक सबै सुरक्षित रहेको जनाएको छ।