• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरी कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशकै उत्कृष्ट स्थानमा : एसपी केसी

सप्तरी प्रहरी कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशकै उत्कृष्ट स्थानमा : एसपी केसी
न्यूज टुडे
राजविराज,०२ चैत ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीले प्रहरीको कार्यसम्पादन मुल्यांकनमा सप्तरीले मधेस प्रदेशकै प्रथम स्थान हासिल गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले यस्तो सफलता प्राप्त गरेको जानकारी गराएका हुन् । 
 पत्रकार सम्मेलनमा बोल्दै एसपी केसीले जिल्लामा प्रहरीले बहन गर्नुपर्ने जिम्मेवारीको क्रममा नेपाल प्रहरीद्वारा गरिएको कार्य सम्पादन मुल्यांकनमा मधेस प्रदेशकै प्रथम र देशकै पाँचौ स्थानमा उग्लन सफल भएको बताए  ।
‘जिल्लामा शान्ती सुरक्षा, अपराध नियन्त्रण, तस्करी नियन्त्रण, सिमा सुरक्षा तथा सेवाग्राहीहरुको आत्मा सन्तुष्टि जस्ता प्रहरी सेवा राम्रो गर्ने हाम्रो प्रयास हो, त्यसमा सप्तरी प्रहरी चुकेको छ भन्ने जस्तो लाग्दैन’ उनले भने, ‘प्रहरी संगठनले गर्नुपर्ने जिम्मेवारी निर्वाहको क्रममा इतिहास मै २०८२ माघ महिनामा मधेस प्रदेशमै प्रथम जिल्ला र देशमै पाँचौ हुन सफलता पायौं । ‘
उनले आफ्नो नेतृत्वको प्रहरी टिम, संचारकर्मीसहित सप्तरीबासीको साथ सहयोगबाट सफल भएको उल्लेख गर्दै प्रत्येक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे ।
उनले आफ्नो नेतृत्वका प्रहरी टिमले सुशासन कायम गर्न सफलता पाएको बताउँदै प्रहरीले अबैध लाभ लिएर गलत क्रियाकलाप गर्छन् भन्ने नकारात्मक सोचलाई अन्त्य गरेको बताए । प्रहरी उपरीक्षक केसीले जिल्ला मातहतका प्रहरी कार्यालयहरुमा गलत फाइदा उठाउने कार्य नभएको तथा यस्ता कार्य सधैको लागि बन्द भएको दावी गरे । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सार्वजनिक फागुन महिनाको प्रगति विवरणमा अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ ६८ वटा मुद्दा दर्ता भएको छ । ज्यान सम्बन्धि २७, आत्महत्या ९, चोरी सम्बन्धि ३, संगठित तथा आर्थिक अपराध ५, म. तथा बा.बा. सम्बन्धि ४, सवारी ज्यान ४ र अन्य १६ मुद्दा दर्ता भएको प्रतिबेदनमा उल्लेख छ । 
यस्तै जघन्य तथा गम्भीर अपराध तर्फ मानव बेचविखन १,बैकिङ्ग कसुर ५ ठगी १ गरि ७ वटा मुद्दा दर्ता भएको उल्लेख छ । पेण्डिङ्ग मुद्दा १ रहेको तथा उक्त मुद्दा  फछ्र्यौट भएको प्रगति विवरणमा उल्लेख छ । 
अदालतको फैसला कार्यान्वयन अन्तर्गत ३४ जना फरार प्रतिवादी नियन्त्रण र त्यसबाट ५ बर्ष ६ महिना कैद तथा २ लाख ९३ हजार जरिवाना असुल गरिएको प्रहरीले माशिक प्रगति विवरण सार्वजनिक गरेको छ । 
महिला बालबालिका तथा ज्येष्ठ नगरिकको उजुरी, हराएका तथा फेला परेका नागरिकको संख्या, लागू औषध नियन्त्रण तथा संलग्न व्यक्ति पक्राउ,सिमा क्षेत्रबाट हुने चोरी तस्करीका सामान बरामद लगायतका प्रहरीले महिना भरी गरेको गतिविधि प्रगति विवरणमा उल्लेख गरिएको छ । 
महिना भरी विभिन्न शिर्षकको २ सय ९  उजुरी परेको मध्ये १ सय ८८ फछ्र्यौट भएको र २१ वटा बाँकी रहेको विवरण एसपी केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरे । 
फागुन महिनामा प्रत्येक्ष रुपमा प्रहरीमा परेको १ सय ४७ उजुरी मध्ये १ सय ३४ फछ्र्यौट गरिएको १३ अझै बाँकी रहेको तथा जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका ६२ मध्ये ५४ उजुरी फछ्र्यौट गरिएको ८ बाँकी रहेको  जिल्ला प्रहरी  कार्यालय सप्तरीले फागुन महिनाको प्रगति  विवरण सार्वजनिक गरेको छ । 
पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो ।