• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हात्तीको आक्रमणबाट घाइते बृद्वाको उपचारको क्रममा मृत्यु 

हात्तीको आक्रमणबाट घाइते बृद्वाको उपचारको क्रममा मृत्यु 
न्यूज टुडे
राजविराज,०१ चैत । 
हात्तीको आक्रमणबाट गम्भीर घाइते सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । स्थानीय ६९ बर्षीय खड्गमति राईको आइतबार विहान उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 
गत फागुन २० गते हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएकी राईको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा विहान ०८ : ०० बजे मृत्यु भएको मृतकका परिवारले जनाएको छ । 
खुट्टा तथा चाकमा गम्भीर चोट लागेको आमाको उपचारको क्रममा ज्यान गएको छोरा चन्द्र कुमार राईले बताए । उनका अनुसार मृतक राईको शव परिक्षणका लागि विराटनगर स्थित कोशी अस्पताल लगिएको छ ।
शव परिक्षण पछि आइतबार साँझसम्म शव घर ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।  बाख्रा गोठालो गएकी राईलाई घर फर्कने क्रममा दिउँसो ३ बजे घर नजिक आइपुग्दा हात्तीले आक्रमण गरेका थिए । 
स्थानीयका अनुसार राई घर आइपुग्न लाग्दा दर्जनौंको संख्याको बथानमा रहेको हात्ती मध्ये एक गाउँमा पसेर उपद्रो मच्याई रहँदा आक्रमणमा परेकी थिइन । 
यस अघि सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का ८१ बर्षिय कर्ण बहादुर भुजेल समेत जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।  फागुन ०९ गते विहान घरनजिकै हात्तीको आक्रमणमा परि घाइते भुजेलको उपचार भइरहेको स्थानीयले जनाएको छ । 
सप्तरीको उत्तरी भेगमा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले बर्षेनी जनधनको क्षति गर्दै आएको छ ।  हात्तीको आक्रमणबाट ठूलो क्षति हुँदा समेत सुरक्षाप्रति राज्य पक्षबाट कुनै पहल नभएको हात्ती पीडितहरुको गुनासो छ ।