नर्मदेव यादव
रुपनी,२८ फागुन ।
राजविराज-रुपनी सडकखण्ड अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका १ स्थित रायपुरमा बुधबार राती मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोरङ्ग कटहरी गाउँपालिका वडा ६ थल्हा गाउँ बस्ने गुरराम मण्डल धानुकको छोरा बर्ष २५ को प्रमानन्द मण्डल र सप्तरी डाक्नेश्वरी नगरपालिका ८ का राम अपतार यादवको छोरा बर्ष ३५ को इतेस कुमार यादव घाइते भएका हुन् ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स ८ प ५०४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको स्थानीय धनराज यादवले बताए । दुर्घटनामा मोटरसाइकल चालक धानुकको टाउको, शरीरको विभिन्न भागमा चोट लागेको छ भने पछाडी सवार यादवको टाउको तथा छातीमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।
राती ०९ :३० भएको दुर्घटनामा घाइते दुबै जनाको अवस्था गम्भीर रहेको तथा उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सडक निर्माण कार्य सुस्त गतिमा हुँदा दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीको चरम लापरबाहीले दैनिक दुर्घटना हुँदा कतिपयको मृत्यु हुने तथा धेरैको अंगभंग हुने गरेको स्थानीय बलराम यादवले बताए ।
सडकमा जथाभावी थुपारिएको निर्माण सामाग्री तथा ठुलो खाल्डाखुल्डीले यात्रुहरु दुर्घटनाको शिकार हुनु परेको उनले बताए । उनका अनुसार उक्त सडक निर्माणको ठेक्का ड्रामा सम्झना जेवी कम्पनी पाएको छ । कम्पनीले सुस्त गतिमा काम अगाडि बढाएको स्थानीयको गुनासो छ ।