• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा मतगणना जारी : चारवटै क्षेत्रमा रास्वपाको अग्रता

सप्तरीमा मतगणना जारी : चारवटै क्षेत्रमा रास्वपाको अग्रता
न्यूज टुडे
राजविराज,२२ फागुन ।  
 प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् । शुक्रबार साँझ ०६ :०० बजे सम्मको मतपरिणाम अनुसार चारवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु अग्रस्थानमा रहेका हुन् ।
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार पुष्पा चौधरीले  २ हजार ८ सय २३ मत प्राप्त गर्दै अग्रता कायम  राखेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामदेव साहले ६ सय ९५ मत पाएका छन्  भने नेकपा एमालेका सुमनराज प्याकुरेलले  १ सय ९४ मत प्राप्त गरेका छन् ।
यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रामजी यादव अग्रस्थानमा छन्। उनले हालसम्म १ हजार  ६ सय ४९ मत प्राप्त  गरेका छन्  । उनका प्रतिस्पर्धी जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले ८ सय २४ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश कुमार यादवले ७ सय ३१ मत प्राप्त गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अमरकान्त चौधरीले झिनो मतान्तर सहित अघि अग्रस्थानमा छन् । उनले हालसम्म १ हजार २ सय १५ मत प्राप्त  गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले १ हजार १ सय ७७ मत पाएका छन्  भने नेपाली काँग्रेसका दिनेश यादवले २ सय ७० मत प्राप्त  गरेका छन् ।
त्यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार सिताराम साह  ५ हजार ३ सय ११ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्  भने  नेपाली कांग्रेसका उम्मेदवार  तेजुलाल चौधरीले २ हजार २ सय ८१ मत प्राप्त  गरेका छन् भने जनता समाजवादी पार्टी नेपालकी डा. बबी सिंह यादवले २ हजार  २ सय १५ मत  ल्याएका छन् ।  
यस पटक सप्तरीका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा।स्वतन्त्र गरी कुल १ सय १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार जिल्लाभर करिब ६८ प्रतिशत मत खसेको जनाएको छ ।
हाल सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको शनिबार सम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।