• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा मतदाताको उत्साहपूर्ण सहभागिता : शान्तिपूर्ण रूपमा मतदान हुँदै

सप्तरीमा मतदाताको उत्साहपूर्ण सहभागिता : शान्तिपूर्ण रूपमा मतदान हुँदै
न्यूज टुडे
राजविराज,२१ फागुन । 
प्रतिनिधि सभा सदस्य पदका लागि बिहिवार जारी मतदानमा सप्तरीमा मतदाताहरुले उत्साहपूर्वक सहभागीता जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाएको हो।
जिल्लाभरका सबै मतदान केन्द्रहरूमा उत्साहजनक सहभागितासहित शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरी सदरमुकाम राजविराज, निर्वाचन क्षेत्र नं.१ अन्तर्गत मावि सितापुर भुर्की, क्षेत्र नम्बर ३ आधारभुत विद्यालय जगमोहन, मावि तेरहौता मतदान केन्द्र सहित विभिन्न केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ज्येष्ठ नागरिक, महिला तथा युवाहरू लाइनमा उभिएर पालो कुर्दै आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
निर्वाचनलाई मर्यादित, निष्पक्ष तथा भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा म्यादी प्रहरी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिए पनि मतदातालाई सहज रूपमा मतदान गर्न सकिने वातावरण मिलाइएको छ ।
निर्वाचन अधिकृतका अनुसार सबै मतदान केन्द्रहरूमा आवश्यक सामग्री समयमै पुगेको छ भने हालसम्म कुनै अप्रिय घटना भएको जानकारी प्राप्त भएको छैन । मतदान प्रक्रिया निर्धारित समयसम्म सञ्चालन हुने र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय बासिन्दाहरूले लोकतन्त्रको पर्वका रूपमा निर्वाचनलाई लिँदै उत्साहपूर्वक सहभागिता जनाइरहेका छन् । जिल्लामा हालसम्म मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ ।

‘जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा कुल ५ सय ६२ मतदान केन्द्र र २ सय ९६ मतदान स्थल तोकिएकोमा २ वटा थप अस्थायी मतदान स्थल गरी २ सय ९८ मतदान स्थल रहने छ भने,’दुई वटा अस्थायी मतदान स्थल जिल्लाको राजविराज कारागार र जिल्ला समन्वय समितिमा रहने छ ।’

कारागारको मतदान स्थलबाट ६९ जना कैदीबन्दीले मतदान गर्ने छ भने जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलबाट कर्मचारी तथा सुरक्षाकर्मी गरी लगभग करिब ३ हजार ८ सय जनाले मतदान गर्ने जनाइएको छ । 

 सप्तरी १ मा १ लाख १९ हजार ४३, क्षेत्र २ मा १ लाख ५ हजार ९ सय २२, क्षेत्र नम्बर ३ मा १ लाख ११ हजार ८ सय ७१, क्षेत्र नम्बर ४ मा १ लाख ९ हजार ५ सय ६६ गरि जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ जना मतदाता रहेका छन्।  निर्वाचनमा कुल तीन हजार ३ सय ७२ जना कर्मचारी खटिएका छन् ।