न्यूज टुडे
राजविराज,१६ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका ६ इटाभट्टा टोलमा शनिबार आगलागी हुँदा तीन परिवारका ५ घर जलेर नष्ट भएको छ । स्थानीय सर्मिला घिसिङ तामाङ, कुमारी घिसिङ तामाङ र नवीन बम्जनको घर र गोठमा आगामी भएको हो ।
आगलागीमा सर्मिलाको १ घर र २ गोठ, कुमारको १ घर र नविनको १ घर पूर्ण रुपले जलेन नष्ट भएको रुपनी ६ का अशोक तामाङले बताए । आगलागीमा परि दिनेश पाख्रीनकी ३ बर्षिय छोरी सिमा पाख्रीन सामान्य घाइते भएकी छिन् ।
आगोले पोलेर घाइते भएकी बालिकाको स्थानीय अस्पतालमा उपचारपछि घर ल्याइएको उनका परिवारजनले बताएका छन् ।
आगलागीमा सर्मिलाको नगद ५० हजार र कुमारीको ३० हजार गरि ८० हजार नगदसहित भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्नलगायतका सामाग्री जल्दा १० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
घाइते बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा आगलागीको कारण बारे पत्ता नलागेको साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।