• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपाका उम्मेदवार यादव (सुभाष) द्वारा प्रतिबद्धता-पत्र 

नेकपाका उम्मेदवार यादव (सुभाष) द्वारा प्रतिबद्धता-पत्र 
 न्यूज टुडे
 राजबिराज,१६ फागुन ।  
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यनाथ यादव ( सुभाष) ले  चुनावी घोषणा-पत्र सार्वजनिक गरेका छन् ।  प्रेस संगठन र प्रेस सेन्टरद्वारा संयुक्त रुपमा राजबिराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  यादवले  चुनावी प्रतिबद्धता सान्यूजर्वजनिक गरेका हुन् ।
कार्यक्रममा उनले समृद्ध र समावेशी विकासलाई मुख्य एजेन्डा बनाउँदै विभिन्न क्षेत्रगत योजनाहरू प्रस्तुत गरे ।   स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर काम गर्ने यादवद्वारा जारी प्रतिबद्धता- पत्रमा उल्लेख छ । 
उनले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण तथा सेवा सुधार गर्ने योजना अघि सारेका छन् ।   औंद्योगिक क्षेत्रलाई व्यवस्थित र सञ्चालनमुखी बनाइ स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 
शिक्षा क्षेत्रमा सामुदायिक तथा निजी विद्यालयको गुणस्तर अभिवृद्धि, आवश्यक स्थानमा नयाँ विद्यालय स्थापना तथा सीपमूलक तालिममार्फत युवालाई रोजगारीसँग जोड्ने योजना उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा भनिएको छ । 
प्रतिबद्धता पत्रमा कृषि क्षेत्रको आधुनिकीकरण, मल–बीउको सहज आपूर्ति, कृषि विद्युतीकरण सुधार र बहुउद्देश्यीय व्यवसाय प्रवर्द्धनलाई उनले आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गरेका छन् ।
यसैगरी महिला, बालबालिका, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम ल्याउने, सामाजिक–सांस्कृतिक सद्भाव र एकतालाई सुदृढ गर्ने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
 ग्रामीण सडक, पुल तथा यातायात सञ्जाल विस्तार र खानेपानी व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको यादवले पत्रकार सम्मेलनमा बताए । 
समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल कुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार छेदी रजक(विमल),केन्द्रीय सदस्य प्रताप नारायण  चौधरी लगायतका नेताहरूको उपस्थिति थियो । 
कार्यक्रम संचालन प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादवले गरेका थिए ।