• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डा.राउतले सार्वजनिक गरे १२ बुँदे प्रतिबद्धता पत्र : ड्राइपोर्ट निर्माण गर्ने सम्मको महत्वाकांक्षी योजना

डा.राउतले सार्वजनिक गरे १२ बुँदे प्रतिबद्धता पत्र : ड्राइपोर्ट निर्माण गर्ने सम्मको महत्वाकांक्षी योजना
न्यूज टुडे
राजविराज,१४ फागुन ।
दश लाखलाई रोजगारी दिने भनि यसअघि भारी मतले चुनाव जितेर प्रतिबद्धता पूरा गर्न नसकेपछि आलोचना खेपिरहेका जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार डा.सिके राउतले बुधबार कुनौलीमा ड्राइपोर्ट निर्माण गर्ने सम्मको महत्वाकांक्षी योजनासहितको १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सप्तरी २ का निवर्तमान साँसद समेत रहेका डा.राउतले आसन्न फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरि चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 
डा. राउतद्वारा जारी प्रतिबद्धता-पत्रमा कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली–राजविराज–रूपनी औद्योगिक करिडोर बनाएर अगाडि बढाइने, राजविराज औद्योगिक क्षेत्रमा लगानीकर्ता र उद्योगीलाई उद्योग खोल्न प्रोत्साहित गरिने उल्लेख छ । आईटीपार्क, कल सेन्टर, कोडिङ आर्मी, एसेम्बली लाइनलगायतका परियोजनालाई कार्यान्वयन गरी रोजगारी बढाइने डा. राउतको प्रतिबद्धता-पत्रमा भनिएको छ । 
कृषि र विद्युतीकरणको योजना कार्यान्वयन, राजविराज १० मा मधेश स्पेस सेन्टरको प्रारम्भिक भौतिक संरचना निर्माण भइसकेको र त्यसलाई सञ्चालन गरेर मोनिटरिङ सिस्टमका रूपमा प्रयोग गरिने तथा स्कुल अफ एआई एण्ड रोबोटिक्स् योजना कार्यान्वयन गरी मधेसलाई स्पेस तथा एआईको हबका रूपमा परिचित गराइने डा.राउतले प्रतिबद्धता गरेका छन् ।
यसैगरी शिक्षा,  स्वास्थ्य र स्पेश तथा एआईको हब बनाइने पनि उनको १२ बुँदे प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । उनले शान्ति तथा सुव्यवस्था, जनता–राज, जनताका समस्या समाधान, अधूरा योजना पूरा गर्ने, रोजगारी, औद्योगीकरण, कृषि, पर्यटन, युवा, महिला तथा खेलकुद, पर्यावरण र जंगलराजबाट स्पेस र  एआईको युगमा फड्को मार्नेलगायतका प्रतिबद्धता जनाएका छन् ।  
यस्तै साक्षरता कार्यक्रम सञ्चालन गरी यस क्षेत्रलाई साक्षर बनाइने, शिक्षाको स्तर उकास्न पहल तथा मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवाअन्तर्गत आमजनताको पहुँच स्वास्थ्य सेवासम्म सुनिश्चित गरी सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गरिने उल्लेख छ । 
राजविराज–१५ को   अधुरो कोल्ड स्टोर निर्माण पूरा गराइने, मधेस कृषि विश्वविद्यालयको भवन निर्माण कार्य पूरा गरिने, अलपत्र र सप्तरीलाई नै कालो सूचीमा बस्न बाध्य बनाएको ‘कन्या छात्रावास’ जस्ता योजना पनि पूरा गराइने राउतको प्रतिबद्धता-पत्रमा उल्लेख गरेका छन् ।
निर्माण सम्पन्न बसपार्क र गजेन्द्रनारायण सिंह अस्पतालका नयाँ अस्पताल भवन सञ्चालन तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अगाडि बढाइने उनले प्रतिबद्धता-पत्रमा उल्लेख गरेका छन् । 
यसैगरी राजविराजका बिटौरी जग्गासम्बन्धी समस्याको समाधान, हटियाको भवन र गिलेसनका डिजाइन सम्बन्धित पक्षको सल्लाहमा त्रुटि सच्चाउँदै सञ्चालनमा ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
आफ्नो विरासत कायम राख्न मरिहत्ते गरीरहेका डा. राउतले यहाँ देखिएको जंगली तथा गुण्डाराजलाई समाप्त पार्दै सबै समुदायका जनताले शान्तिपूर्वक ढंगले बस्न पाउने वातावरण निर्माण गरिने  प्रतिबद्धता  -पत्रमा  उल्लेख गरेका छन् ।