• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मतदाता शिक्षा प्रभावकारी भएन : प्रजिअ पोखरेल

मतदाता शिक्षा प्रभावकारी भएन : प्रजिअ पोखरेल
न्यूज टुडे
राजविराज, ११ फागुन । 
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मतदाता शिक्षा प्रभावकारी बनाउन पर्नेमा जोड दिएका छन् ।
सप्तरीको राजविराजमा सोमबार आयोजित निर्वाचन र आम सञ्चार विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मतदाता शिक्षालाई थप प्रभावकारी रुपमा अगाडि बढाउन पर्नेमा जोड दिएका हुन् ।  
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा आयोजित  कार्यक्रमका बोल्दै प्रजिअ पोखरेलले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको टिप्पणी गरे । 
उनले निर्वाचनको मेरूदण्ड मतदाता शिक्षा भए पनि मतदाता शिक्षाको अभावमा मतपत्र बदर हुनुभन्दा दुःख केही नहुने भएकोले मतदाताको अज्ञानताको कारण मतपत्र बदर हुन नदिन सबै सचेत हुन आवश्यक रहेको बताए । 
प्रजिअ पोखरेलले सप्तरीमा मतदाता शिक्षा कमजोर रहेको बताए । मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई मतदाता शिक्षाको विषयमा सुचित गर्न नसकेको उनको भनाइ छ । 
‘मतदाता शिक्षाको अभावमा कसरी मतपत्रमा छाप लगाउने,पट्याएर मतपेटिकामा खसाउने विषयमा मतदाता अझै अनभिज्ञ रहेको गुनासो आइरहेको  छ’ उनले भने, ‘मतदाता शिक्षा थप प्रभावकारी र उपलब्धिमूलक बनाउन पालिका र वडाले विशेष निगरानी गर्नुपर्ने आवश्यक  छ ।’
नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले अहिलेको समयमा निर्वाचन स्वच्छ, निष्पक्ष,भयरहित वातावरणमा कसरी सम्पन्न हुन्छ ? त्यतातिर सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताए । निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा स्वमसेवकले मतदाताले नबुझेसम्म सिकाएर गत निर्वाचनहरू भन्दा मतपत्र बदरको सङ्ख्या घटाउन आवश्यक भएको उनले बताए । 
निर्वाचन कार्यालय सप्तरीका प्रमुख   निर्वाचन अधिकारी रमेश  कुमार जोशीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । निर्वाचनमा मतदान केन्द्रमा लगिने सामाग्रीको पोको पार्ने काम भइरहेको र अहिलेसम्म जिल्लामा मतपत्र नआइसकेकोले चाँडै आउने जानकारी दिए । 
‘जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा कुल ५ सय ६२ मतदान केन्द्र र २ सय ९६ मतदान स्थल तोकिएकोमा २ वटा थप अस्थायी मतदान स्थल गरी २ सय ९८ मतदान स्थल रहने छ ।’ उनले भ्ने,’दुई वटा अस्थायी मतदान स्थल जिल्लाको राजविराज कारागार र जिल्ला समन्वय समितिमा रहने छ ।’
कारागारको मतदान स्थलबाट ६९ जना कैदीबन्दीले मतदान गर्ने छ भने जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलबाट कर्मचारी तथा सुरक्षाकर्मी गरी लगभग करिब ३ हजार ८ सय जनाले मतदान गर्ने  निर्वाचन अधिकारी जोशीले बताए । 
निर्वाचन अधिकारी जोशीका अनुसार सप्तरी १ मा १ लाख १९ हजार ४३, क्षेत्र २ मा १ लाख ५ हजार ९ सय २२, क्षेत्र नम्बर ३ मा १ लाख ११ हजार ८ सय ७१, क्षेत्र नम्बर ४ मा १ लाख ९ हजार ५ सय ६६ गरि जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ जना मतदाता रहेका छन्।  निर्वाचनमा कुल तीन हजार ३ सय ७२ जना कर्मचारी खटिएको उनले जानकारी दिए । 
जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न मिडियामा सक्रिय दुई दर्जन बढी पत्रकार सहभागी कार्यक्रमको संचालन जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी मालती राईले गरेकी थिइन् ।