• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको रुपनीमा आधाघण्टा चक्काजाम 
नर्मदेव यादव
रुपनी,११ फागुन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा सोमबार आधाघण्टा चक्काजाम गरिएको छ । कंचनपुर- कमला चार लेन सडक निर्माण कार्यलाई गति दिन माग गर्दै स्थानीय व्यापारी व्यवसायी तथा युवाहरुले चक्काजाम गरेका हुन् । 
 निर्माण कार्य ठप्प  पारी धुलो नियन्त्रणमा पनि सरोकारवाला गम्भीर नदेखिएकोले विरोध प्रदर्शनमा उत्रिएको स्थानीयले बताए । 
सडकमा उडेको धुलोले रुपनी बजार तथा सडक आसपासका बासीन्दा बढी प्रभावित भएको स्थानीय राम यादवले बताए । बर्षोसम्म सडक खनेर छोड्दा धुलो उडेर घरमा बस्ने बाताबरण नभएको उनले दुखेसो पोखे ।
सडकमा उडेको धुलो नियन्त्रणमा निर्माण कम्पनीले चासो नदिएको तथा स्थानीय प्रशासनले पनि कुनै पहल नगरेकोको उनले आक्रोश व्यक्त गरे । सडक निर्माण कार्य समेत सुस्त गतिमा भइरहेको उनले गुनासो गरे । सडकमा पानीको व्यवस्थापन गरि प्रदुषण रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि आक्रोशित स्थानीयबासीहरु सडक संघर्षमा उत्रिन बाध्य भएको उनले जानकारी दिए ।
धुलोले स्वासप्रस्वासको रोगको प्रकोप बढ्न थालेपछि स्थानीय साह्रै मारमा परेको उनले बताए । 
सडकमा तत्काल प्रयाप्त पानीको व्यवस्थापन गर्ने स्थानीय प्रहरीले प्रतिबद्धता जनाएपछि साँझ ०५:४५ बजेदेखि जारी चक्काजाम ०६:१५ सम्म आधाघण्टा पछि तत्काल खोलिएको यादवले जानकारी दिए । देशको बर्तमान अवस्थालाई मध्य नजर गरि धुलो नियन्त्रण गराउने र  चक्काजाम खोल्ने सहमति भएको उनले जानकारी दिए । 
दुइपक्षीय सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन सडक अबरुद्धसहित थप सशक्त आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिए । 
यस अघि सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित बशन्तपुर सडक खण्डमा स्थानीयबासीले आइतबार आधघण्टा सडक अबरुद्ध गरि विरोध जनाएका थिए । 
 बर्षोसम्म सडक खनेर अलपत्र छोड्दा सडक आसपास बस्तीका बासिन्दाले धुलोको ठूलो मार खेप्न परेको आन्दोलनमा उत्रिन बाध्य भएको एक सहभागीले बताए ।  सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ देखी कञ्चनरुप नगरपालिका १२ स्थित सुन्दरी पुलसम्मको सडक खनेर अलपत्र छोड्दा सर्वसाधारणलाई धुलोले अति समस्या पारेको उनले बताए । सडकमा उडेको धुलोले बसन्त्पुर आसपासका बस्ती सेताम्मे देखिन थालेको उनले जानकारी दिए । 
आन्दोलनका कारण सयौंको संख्यामा सवारी साधन सडकमा थन्किदा हजारौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए । 
कंचनपुर-कमला चार लेनको सडक निर्माण कार्यको ठेक्का चाइनिज रेल्वे इन्जिनियरिङ ग्रुपले लिएको छ । पटकपटक म्याद थप गरी आठ बर्ष पुग्दा समेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको।छैन ।
निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा यातायातका साधनहरु दुर्घटना हुने तथा सर्वसाधारणमा रुघाखोकी, ज्वोरो, दम तथा श्वासप्रश्वासका रोगी वृद्धि हुन थालेको स्थानीय बताउछन् ।