• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको पूर्वोत्तर भेगका जनतालाई हात्ती लगायतका जंगली जनावरको आतंकले अहिलेसम्म पनि छोडेको छैन ।

पछिल्लो पटक अग्निसाईर कृष्णसबरण गाउँपालिका वडा नं. ६ महुलीमा हात्तीको आक्रमणबाट ८१ वर्षिय कर्णबहादुर भुजेल गम्भीर घाईते भएका छन् । घाँस काट्न गएको समयमा उनलाई जंगली हात्तीले आक्रमण गरेको हो । त्यस भेगमा बारम्बार हात्तीका हुल पसेर बालीनालीमा क्षति पुर्याउने,वस्तीका घर भत्काउने तथा मानिस समेतलाई आक्रमण गर्ने गरेको घटना नयाँ होईन । दसकौंदेखि त्यहाँका जनता यो समस्या खेप्दै आएका छन् । घाँसपात तथा कृषि कर्मकालागि खेतबारीमा खटेका बखत पनि हात्ती लगायतका जंगली जनावरले आक्रमण गर्ने भएका कारण उनीहरुलाई काम गरेर गुजारा गर्न पनि समस्या परिरहेको कुरा नयाँ होईन । यस्तै रातको समय पारेर वस्तीमा ती हिंस्रक जनावर पस्न सक्ने डरका कारण रात्री जाग्राम समेत गर्नु परिरहेको छ । रातको समयमा राम्ररी निदाउन नपाउँदा पनि यस समस्याको समाधान प्रति न सरकारले चासो देखाएको छ न त राजनीतिक दल तथा जनप्रतिनिधिले नै यसका बारेमा सक्रियता दर्शाएका छन् । पटक पटकको आक्रमणका क्रममा कतिले त ज्यानै गुमाईसकेका छन् भने कतिको अंगभंग भएको छ । तर पनि यस समस्याका बारेमा गम्भीर चासो नलिईएका कारण जनताले यसलाई जीर्ण रोगकै रुपमा स्वीकार गर्नु पर्ने बाध्यताले छोडेको छैन । जनतालाई अनेकन् आश्वासन दिईन्छ,प्रतिबध्दता जनाईन्छ ।

जंगली जनावरबाट सुरक्षाका विषयलाई पनि निर्वाचनका समयमा निकै उठान नगरिएका होईनन् । तर ती फगत फोस्रा आश्वासनमा मात्रै सिमित रहेका कारण जनताले असुरक्षित भएर बस्नु परिरहेको छ । अब पनि यस्ता घटनामा परेर कसैले ज्यान गुमाउनु नपरोस् भन्नाकालागि यस समस्यालाई गम्भीर रुपमा लिँदै समाधान तर्फ लाग्न आवश्यक छ ।