न्यूज टुडे
राजविराज,१० फागुन ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार उपचारकै क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । छिन्नमस्ता गाउँपालिका ५ लोखरम निवासी २३ वर्षीया सुजानदेवी सदाको उपचारमा लापरबाही हुँदा मृत्यु भएको आरोप लगाउँदै उनका आफन्त र स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
शनिबार शल्यक्रियापछि पोस्टअपरेटिभ वार्डमा राखिएकी उनको आइतबार बिहान करिब ३ बजेतिर बान्ता भएपछि अचानक मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृतकका परिवारजनले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन तथा नाराबाजी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रहरी कार्यालय सप्तरीले अस्पताल परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले शल्यक्रियामा कुनै त्रुटि नभएको दाबी गरेका छन् । उनका अनुसार बान्ता हुँदा अन्न श्वासनलीमा प्रवेश गरेपछि (एस्पिरेसन) ज्यान गएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।