• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

निर्वाचन लक्षित सुरक्षा :  मदिरा विक्री वितरणका कडाई

निर्वाचन लक्षित सुरक्षा :  मदिरा विक्री वितरणका कडाई
न्यूज टुडे
राजविराज, १० फागुन । 
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरीमा मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाइ गरिने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा आईतवार बसेको बैठकले चुनाव अबधि भर अबैध मदिरा ओसारपसार र विक्री वितरणमा कडाइ गरिने सहितको निर्णय भएको एक सहभागीले बताए । 
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा उपभोक्ता हित संरक्षणमा विशेष ध्यान दिदै यस्तो  निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 
उनकाअनुसार  जिल्लाभित्र अनुमति बिना मदिरा बिक्री–वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ। इजाजतबिना मदिरा बिक्री गरेको पाइएमा मदिरा जफत गरी कानुनी कारबाही गर्ने निर्णय गरिएको छ । 
यसैगरी होटल तथा रेस्टुरेन्टमा मदिरा सेवनको समय बेलुका ८:०० बजेसम्म मात्र तोकिएको छ। निर्वाचन अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस निर्णयले सहयोग पुग्ने प्रशासनको विश्वास छ।
जिल्लाका विभिन्न मिठाई पसलहरूले म्याद गुज्रेका तथा अखाद्य वस्तु मिसाएर बिक्री गरिरहेको गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्र बनाउने निर्णय गरेको छ।
अनुगमनका क्रममा दोषी पाइएमा आवश्यक कानुनी कारबाही गरिनेछ। साथै सवारी साधनमार्फत मिठाई ढुवानी गर्दा अनिवार्य रूपमा ढाकेर लैजानुपर्ने व्यवस्था गरिएको छ। मिठाई बनाउन प्रयोग हुने तेलको गुणस्तरसमेत परीक्षण गरिने र कम गुणस्तरको तेल प्रयोग भएको भेटिएमा कारबाही गरिने जनाइएको छ।
पान पसल, किराना पसल लगायतका व्यवसायीहरूले इजाजतपत्र बिना सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने प्रशासनले जनाएको छ। व्यवसायीहरूलाई कानुनअनुसार दर्ता र अनुमति लिएर मात्र व्यापार सञ्चालन गर्न आग्रह गरिएको छ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम विद्यालय, कलेज, स्वास्थ्य संस्था, बाल कल्याण गृहजस्ता संवेदनशील स्थानबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ। उल्लंघन भएमा ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
निर्वाचन अवधिमा शान्ति, सुरक्षा र उपभोक्ता अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै अनुगमन तथा कारबाही प्रभावकारी बनाइने  प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
निर्णय सार्वजनिक गर्दै प्रशासनले सबै व्यवसायी तथा सर्वसाधारणलाई निर्णयहरूको पूर्ण पालना गर्न अनुरोध गर्दै नियम उल्लंघन नगर्न सचेत गराएको छ।