उत्तम आचार्य
कन्चनरुप , ०९ फागुन ।
नेपाली र्याप सङ्गीत क्षेत्रमा चिनिएका कलाकार शेखर कुमार वाग्ले (र्यापर सिड वाग्ले) यतिबेला आफ्नो नयाँ र्याप गीत “ मधेस मेरो पहिचान ” मार्फत व्यापक चर्चामा रहेका छन्। लामो समय बेलायत बसाइँका क्रममा र्याप सङ्गीत सुरु गरेका सिड वाग्ले हाल नेपाल फर्किएपछि विभिन्न क्षेत्रमा सक्रिय भएका हुन् ।
व्यवसाय, राजनीति र मिडिया क्षेत्रमा समेत आबद्ध सिड वाग्लेले “इमेज च्यानल” मा प्रशारण हुने “बाबा छोरी” कार्यक्रम समेत सञ्चालन गरेका थिए। अहिले भने उनी आफ्नै जन्मभूमि मिलटोल, रुपनगर–सप्तरी र बाल्यकालका सम्झनालाई समेट्दै मधेसको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय धरोहर झल्काउने गीत लिएर आएका छन्।
उनको नयाँ र्यापमा नेपालकै ऐतिहासिक चन्द्र नहर र प्रसिद्ध सप्तकोशी लगायतका स्थलहरू समेटिएका छन्। गीतमा मधेसको भेषभूषा, संस्कार, मिलटोलको भावना र आफ्नो जन्मभूमिप्रतिको गहिरो माया प्रस्तुत गरिएको छ।
“म विश्वको जहाँ रहे पनि मेरो मन सबैभन्दा बढी आफ्नो मधेसमै बस्छ,” भन्ने सन्देश बोकेको यो गीतले कञ्चनपुर–सप्तरीदेखि सम्पूर्ण मधेसभर चर्चा कमाउँदै ख्याति प्राप्त गरिरहेको छ।
स्थानीय युवाहरूबीच देशप्रेम, पहिचान र एकताको भाव जगाउने उद्देश्यसहित सार्वजनिक गरिएको यो र्याप गीतले सामाजिक सञ्जालमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ। मधेसलाई विश्वकै सबैभन्दा सुन्दर र प्रिय भूमि भन्दै गरिएको प्रस्तुतिले सिड वाग्लेलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ।