न्यूज टुडे
राजविराज, ०९ फागुन ।
नेकपा एमालेबाट सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद रहमानको तस्वीर तथा झण्डा जलाउने एक जना पक्राउ परेका छन् । महादेवा गाउँपालिका-५, भगवतपुरका २५ वर्षीय हरिनारायण मण्डल शनिबार एमाले उम्मेदवारको तस्वीर र पार्टीको झण्डा जलाएको आरोपमा पक्राउ परेका हुन् ।
महादेवा गाउँपालिका-५, भगवतपुरमा एमालेको झण्डा र प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्वीर जलाएको भिडियो सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी बताए ।
‘एमाले पार्टी मुर्दावाद, मधेशमा यस्तो स्वागत छ’ भन्दै अश्लिल गाली गरेर एमालेको झण्डा जलाएको र जलाउनेले ‘जय मधेश जय घण्टीको नारा समेत लगाएको भिडियो शुक्रबार झाँझ सार्वजनिक भएको थियो ।
पक्राउ परेका मण्डलमाथि अनुसन्धान अगाडि बढाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।
यसैगरी नेपका एमाले सप्तरीले घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिव देवनाथ यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।