• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा पनि विगतमा विकास निर्माणका विषयलाई समेटेर धेरै प्रतिबध्दता व्यक्त भएकै हुन् । तर यसरी गरिएका प्रतिबध्दता थोरै मात्र पूरा भए भन्ने कुराका साक्षी स्वयम् सप्तरीका जनता छन् । यस्ता प्रतिबध्दता विशेष गरी निर्वाचनका समयमा नै बढी व्यक्त हुने गरेका छन् ।

जसमा कृषि,शिक्षा,स्वास्थ्य,सडक लगायत विविध विषयले प्रबेश पाएको कुरा विदितै छ । यसका अतिरिक्त सप्तरीमा थालिएका धेरै योजना अहिले पनि त्यसै थन्किएर रहेको अवस्था छ । अस्पताल,कोल्डस्टोर,छात्रावास,स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका धेरै योजना पूरा नभई त्यसै थन्किएर रहेका छन् । ती योजनाको थालनी कालमा जनतामा जस्तो उत्साह थियो तिनलाई वीचमै अलपत्र पारिएपछि अहिले निराशा पनि उत्तिकै छ । अहिले फेरि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा उम्मेदवारी दिएका कतिपयले अधुरा योजनालाई पनि पूरा गर्ने भनि बाचा कबुल गर्न थालेका छन् । योजना अधुरा वा अलपत्र पारिएका छन् भने तिनलाई पूरा गर्नकालागि निर्वाचनकै समय आउनु पर्छ भन्ने त नहोला । तथापि यस प्रकारको प्रतिबध्दता व्यक्त हुन्छ यदि भने त्यसलाई सकारात्मक नै मान्नु पर्दछ ।

योजना पूरा भएमा जनताले त्यसको लाभ पाउने भएका कारण तिनलाई समयमा नै सम्पन्न गराउनेतर्फ पहल थाल्न सकिएको भए यो झनै प्रशंसनीय काम हुन सक्थ्यो होला । तथापि ढिलै भए पनि अधुरा योजना पूरा गर्ने तर्फ जसरी प्रतिबध्दता आएको छ त्यसले कार्यरुप पाओस्,उपलब्धिमूलक बन्ने नै छ ।