न्यूज टुडे
राजविराज,०७ फागुन ।
सप्तरीमा नेपाली सेनाको सवारी तथा पैदल गस्ती तीव्र पारिएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयारहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ नेपाली सेनाले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।
सप्तरी जिल्लामा तैनाथ श्री बरख गणले जिल्ला प्रशासनको एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा गतिविधिलाई तीव्र बनाएको जनाइएको छ। जनतालाई सुरक्षा प्रत्याभूति दिलाउने लक्ष्यसहित सवारी (भेहिकल) गस्ती तथा पैदल गस्ती दुवैमा व्यापक वृद्धि गरिएको बरख गणले जानकारी गराएका छन् ।
संवेदनशील क्षेत्र, मतदान केन्द्र वरपर, मुख्य बजार क्षेत्र, सीमा नजिकका इलाका तथा आवागमनका प्रमुख मार्गहरूमा नियमित निगरानी, चेकपोस्ट सञ्चालन र गस्ती कार्यक्रम सशक्त रूपमा कार्यान्वयन भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध आवागमन, अफवाह तथा अशान्ति फैलाउने प्रयासलाई समयमै नियन्त्रण गर्न सुरक्षाकर्मीहरू २४ घण्टा सक्रिय रहँदै आएको बताइएको छ ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीचको समन्वयमा सञ्चालन भइरहेको एकीकृत सुरक्षा व्यवस्थाले शान्ति सुव्यवस्था कायम राख्न मद्दत पुर्याउने जिल्ला सुरक्षा समितिले विश्वास लिइएको छ।