• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो ’: अध्यक्ष यादव

‘सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो ’: अध्यक्ष यादव
न्यूज टुडे
राजविराज,०७ फागुन । 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा, सुविधाका साथै सुशासन कायम गर्न नसक्नु  कांग्रेस–एमालेको दुई तिहाइको सरकारको असफलताको मूल कारण भएको बताएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ७ भगवतपुरमा विहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
 दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको बताउँदि उनले दुई फरक विचार सिद्धान्त भएका ठूला पार्टीहरुको सरकार बनाउनु नै गलत निर्णय भएको टिप्पणी गरे ।
 कहीँ नभएको अभ्यास नेपालको राजनीतिमा भएको बताउँदै उनले भने ‘कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आएको हो, जनताप्रति जिम्मेवार हुन नसक्नु, सेवा, सुविधाका साथै सुशासन कायम गर्न नसक्नु सरकारको असफलताको मूल कारण हो ।’
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले अतिवाद र तानाशाही प्रवृतिले गर्दा पछिल्लो विद्रोह भएको र सोको जिम्मा कांग्रेस एमालेले लिनुपर्नेमा जोड दिए । मधेश जनविद्रोहबाट आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित भए पनि अझैं व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने ‘जनताको मत पाएर विगतमा निर्वाचित भएका जनप्रतिनिधिलाई हाम्रो गाउँठाउँको विकास किन भएन ? देशका लागि के योगदान दिनुभयो ? मधेशी, थारु, दलित लगायत उपेक्षित उत्पीडित जनताका लागि के गर्नभयो ? प्रश्न सोध्नुहोला ।’
सङ्घीय शासन व्यवस्थालाई समाप्त पार्न आफुलाई नयाँ भन्ने शक्तिले जनतालाई भ्रममा पारेर प्राप्त उपलब्धीहरुलाई समाप्त पार्न खोजेको उनले आरोप लगाए । अध्यक्ष यादवले देशका शोषित, उत्पीडित, उपेक्षित एवम् पछाडि पारिएका समुदायका लागि सङ्घर्ष गर्ने पार्टी जसपा नेपाल नै भएकोले शक्तिशाली शक्ति बनाउन आम जनतासँग आग्रह गरे ।
अध्यक्ष यादवले शम्भुनाथ नगरपालिकाको भगवतपुर, भंगहा, जमुवा, मोहनपुर लगायतका गाउँहरुमा गाउँहरुमा घरदैलो गरिएका छन् । 
 कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), पार्टीका नेता दिलकुमारी चौधरी, जिल्ला अध्यक्ष सुनिल कुमार झा, समाजवादी युवा संघका अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरु सहभागी थिए ।