प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा माहौल तात्दै गएको छ । निर्वाचनमा उम्मेदवार बनेकाहरु जनतासित भोट माग्नकालागि सक्रिय भई घरघर पुग्न थालेका छन् । तिनका समर्थकलाई पनि खट्ने क्रमको चटारो छ ।
मतदाता नै कसलाई जिताउने भन्ने कुराको निर्णायक रहेका कारण तिनलाई रिझाउनकालागि नै बढी जसो समय बित्ने गरेको छ । यसै क्रममा अहिले नयाँ पुस्तातर्फको रुझान पनि बढ्दै गएको छ । पुरानाले लामो समय सरकार चलाएको बताउँदै कतिपयले अव नयाँलाई पनि मौका दिनु पर्ने तर्क अघि सारेका छन् । विपरिततः पुरानाको अनुभवलाई अवमूल्यन गर्न नमिल्ने कतिपयको तर्क समेत छ । युवाको जोश र शक्तिलाई अवमूल्यन गर्न मिल्दैन । किनभने मुलुकको नेतृत्व युवालाई दिन सके उनीहरुले जोश र जाँगरका साथ मुलुक निर्माण गर्ने भनि गरिएको तर्कलाई अस्वीकार गर्न सकिन्न । यसकालागि पुस्तान्तरणमा जोड दिने गरिएको छ । तर्क आआफ्नै हुन सक्छन् । तर मुलुकमा विकासको गति ल्याउन,राजनीतिक स्थिरता कायम गर्न तथा विकृति बिसंगतिको अन्त्यकालागि परम्परावादी सोचका साथ अघि बढियो भने त्यसले अपेक्षित उपलब्धि हासिल होला नै भन्न सकिन्न । विगतमा हुने गरेका सत्ताका खेल,बढ्दो विकृति तथा जनतामा बढेको निराशालाई चिर्नकालागि परम्परावादी कार्यशैलीले समस्याको निकास हुन सक्छ भन्नेमा कमैलाई विश्वास रहेको हुनु पर्ने हो । यही धारणाका साथ पुस्तान्तरणको सबालमा बढी जोड दिन थालिएको हुन सक्छ ।
जनताको भावनासित तादात्म्य राख्दै समयानुकूल निर्णयको प्रतिक्षा रहनु स्वाभाविक नै मान्नु पर्ने हुन्छ ।