आम जनता पार्टी( आजपा) सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार इन्जिनियर सुनिलराज दासले जन अधिकार पार्टी ( जअपा) का राष्ट्रिय अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शरद सिंह यादवलाई समर्थन गरेका छन् । जन अधिकार पार्टीद्वारा राजविराजमा मंगलबार आयोजित चुनावी घोषणा पत्र सार्वजनिकिकरण कार्यक्रममा इन्जिनियर दासले डा. यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
डा. यादवलाई समर्थन गरेको घोषणा गर्दै आजपा उम्मेदवार इन्जिनियर दास । फोटो : न्यूज टुडे
डा. यादवलाई समर्थन गरेको घोषणा गर्दै इन्जिनियर दासले मधेस र मधेसी जनताको हितमा काम गर्ने सोच र योजना अन्य मधेसी नेतामा भन्दा डा. यादवमा रहेको बताए । उनले मधेस र मधेसीको अधिकारका लागि प्रतिनिधिसभामा डा. यादवको उपस्थिति अपरिहार्य हुने भएकोले आफू र आफ्नो पार्टीले समर्थन गरेको बताए ।
‘म इन्जिनियर वहाँ डाक्टर देश र मधेसको लागि विद्वान व्यक्ति संसदमा चाहिन्छ’ वहाँसंग राजनीतिक अनुभव र दर्शन छ’उनले भने,’जनमत पार्टीको प्रबक्ता भएर पार्टी हाकेको अनुभव छ, डा.यादवले मात्र गजेन्द्रनारायण सिंहको सपना साकार पार्न सक्छन् ।’
घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष डा. यादवले मधेसी नेता र पार्टीकै कारण मधेस अस्तव्यस्त भएको आरोप लगाए । उनले मधेस र मधेसी जनताको हक अधिकार सुनिश्चितताका लागि क्षेत्रीय पार्टीको रुपमा पार्टी स्थापना गरि अगाडि बढेको उल्लेख गरे ।
मधेसका जिल्लाहरुमा मात्र पार्टीको संगठन विस्तार गर्ने बताउँदै डा. यादवले मधेसी जनताको पहिचान, प्रतिनिधि, सामाजिक न्यायको लडाइँ लड्ने मधेसको एकमात्र बैकल्पिक शक्ति आफू नेतृत्वको पार्टी मात्र भएको दावी गरे ।
डा. यादवद्वारा सार्वजनिक गरिएको घोषणा पत्रमा सुशासन, विकास र अधिकारको लडाइँ संगसंगै अगाडि बढाइने उल्लेख गरिएको छ । सप्तरीसहित मधेसका जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, कृषिमा आधुनिकीकरण तथा उधोग कलकारखाना स्थापना गरि रोजगारी सिर्जना गर्ने घोषणा पत्रमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
सात पृष्ठको घोषणा पत्रमा कंग्रेस, कम्युनिस्ट पार्टी तथा नयाँ उदाएको पार्टीहरुलाई भन्दा मधेसवादी पार्टी तथा त्यसका नेताहरुको बढी आलोचना गरिएको छ । मधेसी पार्टीका नेताको अहंकार र स्वार्थले मधेसी जनतामा विभाजन ल्याइ कम्जोर बनाएको आरोप लगाइएको घोषणा पत्रमा जन अधिकार पार्टीले सम्पूर्ण मधेसी र मधेसलाई जोड्ने दाबी गर्दै गोलवद्व हुन अपिल गरिएको छ ।
जन अधिकार पार्टीले विकास र अधिकारलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् ।