न्यूज टुडे
राजविराज, ०४ फागुन ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् सप्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले औपचारिक रुपमा सोमबारदेखि घरदैलो अभियान थालेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट यादवले घरदैलो अभियान प्रारम्भ गरेका हुन् ।
प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उनी उम्मेदवार भएका हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।
पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ कोे मझौरा, ब्रहम्पुर, सिंगिया, वडा नम्बर १ को कबिलासा, मधुबनी लगायतका गाउँहरूमा जसपा नेपालका अध्यक्ष यादवले घरदैलो गरेका छन् । घरदैलोका क्रममा उनले आममतदाताहरुसँग भेंटघाट गर्दै संविधान संशोधन गरी बाँकी अधिकार प्राप्ति र विकासका लागि आफुसहित पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।
घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की) लगायतका नेताहरु सहभागी छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन् ।