• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रतिनिधि सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । उम्मेदवारहरुले निर्वाचनलाई नै लक्षित गरी प्रचार प्रसारको क्रम तिब्र पार्दै लगेका छन् ।

घरदैलो जारी छ भने काममा बाहिर खटेका मतदाता समक्ष पुगेर पनि उम्मेदवार तथा तिनका समर्थकहरु भोट माग्न व्यस्त छन् । कतिपय उम्मेदवारहरु मतदाताका काम सघाउन पनि तत्पर भई लागेको सामाजिक सञ्जालमा निकै देखिने गरेका छन् । हो,जनताका साथमा रहनुलाई सकारात्मक कार्य मानिन्छ । जनप्रतिनिधि भनेका जनताका दुःखसुखका साथी नै मानिन्छन् । यस्तै जनताको सेवामा लाग्ने गरेका कारण उनीहरुलाई जनसेवीका रुपमा पनि लिने गरिएको हो । जनतालाई रिझाएर भोट लिनकालागि उनीहरुको मन जित्ने काम अवश्य पनि सकारात्मक हो । तर निर्वाचन जितेर गएपछि मुखै देखाउन नआएको भनि कतिपय विगतका जनप्रतिनिधिका बारेमा जनताको प्रतिक्रिया अहिले आउन थालेको छ । यसै गरी आफ्नो प्रतिष्पर्धीका बारेमा स्वयम् उम्मेदवारले नै अनेक प्रकारका कटाक्ष र नकारात्मक धारणा पनि व्यक्त गरेको सुनिन्छ । चुनावमा उठिसकेपछि प्रतिष्पर्धाबाट भाग्न मिल्दैन । धेरै उम्मेदवार रहेछन् भने पनि यसलाइृ लोकतान्त्रिक अभ्यासका रुपमा नै स्वीकार्नु पर्ने हुन्छ ।

जनताले कसलाई विश्वास गर्छन् र विजयी हुने गरी मत प्रदान गर्छन् भन्ने कुरा उनीहरुको स्वविवेकीय निर्णय हो । त्यसैले जनताका सामु आफ्ना कुरा राख्ने हो । प्रतिष्पर्धीका बारेमा नकारात्मक कुराको उठान गरी आफ्ना पक्षमा जनमत जुटाउन सकिन्छ भन्ने सोच राख्नु भन्दा पनि लोकतान्त्रिक प्रतिष्पर्धाका रुपमा प्रस्तुत हुनु नै उत्तम पनि हुनेछ ।