• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विष्फोटबाट घाइते बालकहरुको उपचारमा गम्भीरता नदेखाएको गुनासो 

विष्फोटबाट घाइते बालकहरुको उपचारमा गम्भीरता नदेखाएको गुनासो 
न्यूज टुडे
राजविराज,०४  फागुन । 
सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा गत २४ गते माघमा भएको शंकास्पद बस्तुको विष्फोटमा परि घाइते बालकहरुको उपचारमा गम्भीरता नदेखाएको पीडित परिवारले गुनासो गरेका छन् । सोमबार  प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल समक्ष पीडित परिवारले यस्तो गुनासो गरेका हुन् ।
रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वमा पीडित  परिवार , स्थानीय जनप्रतिनिधि तथा बुद्धिजीवीहरुले प्रमुख जिल्ला अधिकारी पोखरेलसंग भेटघाट गर्दै शैनिक अस्पतालमा उपचाररत बालकहरुको उपचारमा नेपाली सेनालाई जिम्मेवार बनाइदिन आग्रह गरेका छन् ।
दुइजना बालकको इटहरी स्थित शैनिक अस्पतालमा उपचार भइरहेको तथा तीन जनालाई गत माघ २६ गते डिस्चार्ज गरि घर पठाएको जानकारी गराउँदै पीडित परिवारले डिस्चार्ज भएका बालकहरुको एम्बुलेन्स खर्च पीडित पक्षले नै बुझाउनु परेको तथा थप उपचाररत दुइजनाको कुरुवाले खानाबस्न व्यक्तिगत खर्च व्यहोर्नु परेको गुनासो गरे ।
शैनिक अस्पतालबाट डिस्चार्ज भएको एकहप्ता हुँदा पनि घाउ सफा गर्दा रगत नरोकिएको एक पीडितका आमाले बताइन् ।  ‘अपरेसन गरेर आएको छोराको एकजना संगैबसेर रेखदेख गर्नुपर्ने हुन्छ’ उनले भनिन्,’बनिबुतो नगरी चुल्हो बल्दैन, यस्तो अबस्थामा साह्रै समस्या खेप्नुपरेको छ ।’
सेनाको अभ्यास स्थलमा घटना भएकोले घटनाको जिम्मेवारी लिएर नेपाली सेनाले औषधि उपचार तथा क्षतिपूर्तिको जिम्मेवारी लिनुपर्ने पीडित परिवारले माग गरे।   भविष्यमा सोही घटनामा उपचार गर्नुपर्ने अबस्था दोहोरिए नेपाली सेनाले जिम्मेवारी लिनुपर्ने र त्यसको लागि लिखित सहमति गर्नुपर्ने पीडित परिवारको अडान छ । हराएको बम खोज्ने नेपाली सेनको टुकरी नजिकै हुँदा समेत विष्फोटमा पारि घाइते बालकहरुको उद्वरमा कुनै चासो नराखेको भन्दै पीडित परिवारले आक्रोश पोखे । 
प्रजिअ पोखरेलले  घटना दु:खद भएकोले घाइते बालकहरुको सम्पूर्ण उपचारको खर्च उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए ।  उनले घाइते बालकहरुको स्वास्थ्य अबस्था पुर्ण रुपमा ठिक नभएसम्म उपचारमा कमी आउन नदिने प्रतिबद्धता समेत व्यक्त गर्दै  बम कसको भन्ने स्पष्ट नभएपनि  नेपाली सेनाको अभ्यास स्थलमा घटना भएको आधारमा नेपाली सेनालाई बालकहरुको उपचारसहितका अन्य पक्षमा समेत जिम्मेवार बनाउने आश्वासन दिए ।
बालकहरुको उपचारको सम्पूर्ण ग्यारेन्टी हुने गरि सरोकारवाला तथा पीडित पक्षलाई राखेर  छलफल गरि लिखित आधार बनाउने प्रजिअ पोखरेलले बताए । 
एकहप्ता अगाडी पीडित परिवारसहित स्थानीयबासीले नेपाली सेनाको चरम लापरबाही देखिएको भन्दै घोर आपत्ति जनाउँदै सात दिने अल्टिमेटमसहित प्रजिअ पोखरेललाई ज्ञापनपत्र  बुझाएका थिए ।
विगतमा समेत यस्ता घटना भइ मानवीय क्षति समेत भएको स्मरण  गराइएको ज्ञापनपत्रमा  भनिएको छ,’यस घटनाक्रमले सेनाको चरम लापरबाहीका कारण यस्तो मानवीय क्षतिको घटनाहरु हुने गरेको हाम्रो ठहर छ ।’  ज्ञापनपत्रमा अगाडि भनिएको छ:-‘नेपाली सेनाको गैरजिम्मेवारीपनको कारण भएको घटनाले हामी सम्पूर्ण रुपनीबासीलाई स्तब्ध तुल्याएको छ ।’
यस विष्फोटका घटनामा घातेबालकहरुको उचित उपचार गरि  भविष्यमा हुने उपचार खर्च समेत सरोकारवालाबाट उपलब्ध गराइ आगामी दिनमा यस्ता घटनालाई दोहोरिन नदिन नेपाली सेनाको अभ्यासको क्रममा हराएको विष्फोटक पदार्थहरु व्यवस्थापन गर्न  ज्ञापनपत्रमा जोडदार माग गरिएको थियो । 
तालिम केन्द्रमा पटकपटक यस्तो घटना दोहोरी रहने हुँदा सम्पूर्ण गाउँपालिकाबासीलाई त्रसित तुल्याएको भन्दै तालिम केन्द्र हटाउन पर्ने ज्ञापनपत्रमा माग सारिएको थियो । 
घाइते बालकहरुको उपचारसहित क्षतिपूर्ति व्यवस्था एवम् उनीहरुको शारीरिक अंगभंग भएमा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्नुपर्ने, नेपाली सेनाको तालिम केन्द्र यस ठाँउबाट स्तान्तरण गर्नुपर्ने र हराएका बम लगायतका विष्फोटक पदार्थहरु अविलम्ब  खोजी गरि निष्क्रिय गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको थियो। 
सम्वादबाटै माग पूरा हुनेमा पूर्ण विश्वास रहेको बताइएको ज्ञापनपत्रमा सातदिन भित्र माग सम्बोधन नभए सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिइएको थियो। 
उक्त अवसरमा रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, स्थानीय संचारकर्मी तथा पीडित परिवार एवम् स्थानीय भद्र भलाद्मीहरुको उपस्थिति थियो । 
गत माघ २४ गते शनिबार दुधैला खोला पिकनिक (बनभोज) खान गएका बेला शंकास्पद विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय  साजन  आले मगरको छोरा बर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा बर्ष ९ का देव बहादुर थापा  (प्रासिस),कर्ण बहादुर थापा मगरका छोरा बर्ष १६ का कविर थापा मगर , पदम बहादुर विकको छोरा बर्ष १३ का सुरज विक,इन्द्र देव मण्डलका छोरा बर्ष १३ का सुरज कुमार मण्डल गरि ५ जना घाइते भएका थिए!।
घाइते मध्ये साहाशको र प्राशिसको पैताला तथा छेपारीमा गम्भीर चोट लागेको तथा शरीरको विभिन्न भागमा छर्रा लागेको तथा सुरज, कबिर र सुरजको शरीरको विभिन्न भागमा  छर्रा गाडिएको थियो ।  राजविराज स्थित छिन्नमस्ता अस्पतालबाट उनीहरूको शरीरबाट सल्यक्रिया गारी छर्रा निकालिए पनि थप उपचारका लागि इटहरी स्थित शैनिक अस्पताल लगिएको छ । 
घाइते मध्ये सुरज,  कबिर र सुरज तीन जना उपचार गरि सोमबार घर फर्किएका छन् भने प्राशिस र साहसको शैनिक अस्पताल इटहरीमा उपचार भइरहेको स्थानीय विष्णु थापा मगरले बताए । 
नेपाली सेनाले भने उक्त विष्फोटक पदर्थ सेनाको नभएको दावी गर्दै आएका छन् भने प्रहरीले घटनाको हप्तौं वित्दा समेत अझै अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।