• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्वपश्चिम सडक निर्माण कार्य सुस्त :  सडकमा उडेको धुलोले जनजीवन प्रभावित

पूर्वपश्चिम सडक निर्माण कार्य सुस्त :  सडकमा उडेको धुलोले जनजीवन प्रभावित
न्यूज टुडे
राजविराज,०१ फागुन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कंचनपुर- कमला चार लेन सडक निर्माण कार्यले गति नलिंदा सर्वसाधारणहरु सास्ती खेप्न बाध्य भएका छन् । बर्षोसम्म सडक खनेर अलपत्र छोड्दा सडक आसपासका बासीन्दाहरु बढी प्रभावित भएका हुन् । 
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ देखी कञ्चनरुप नगरपालिका १२ स्थित सुन्दरी पुलसम्मको सडक खनेर अलपत्र छोड्दा सर्वसाधारण मारमा परेका छन् । सडकमा उडेको धुलोले आसपासका बस्ती सेताम्मे देखिन थालेको छन् । 
सडकमा उडेको धुलोले सडक आसपासका बासीन्दा बढी प्रभावित भएको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ रतबलाका विजय कुमार चौधरीले बताए । बर्षोसम्म सडक खनेर छोड्दा धुलो उडेर घरमा बस्ने बाताबरण नभएको उनले दुखेसो पोखे ।
सडकमा उडेको धुलो नियन्त्रणमा निर्माण कम्पनीले कुनै पहल नगरेको तथा सडक निर्माण कार्य समेत सुस्त गतिमा भइरहेको चौधरी गुनासो गरे । उनले सडकमा पानीको व्यवस्थापन गरि प्रदुषण रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको भन्दै आक्रोश पोखे ।
‘भान्सा कोठा, सुत्ने ओछ्यान, तरकारी बाली सबै ठाउँमा सडकको धुलोले भरिन्छ’ उनले भने, ‘खानासंगै धुलोमैला खानुपर्ने दैनिकी जस्तै भएको छ, घर छोडेर काँहा जानु, घरमा बस्ने बाताबरण छैन । ‘
 उनले सडकमा तत्काल प्रयाप्त पानीको व्यवस्थापन गरि पर्यावरण जोगाउन सम्बन्धि पक्षसंग आग्रह गरे । 
कंचनपुर-कमला चार लेनको सडक निर्माण कार्यको ठेक्का चाइनिज रेल्वे इन्जिनियरिङ ग्रुपले लिएको छ । पटकपटक म्याद थप गरी आठ बर्ष पुग्दा समेत ६० प्रतिशत समेत काम हुन सकेको छैन ।
निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा यातायातका साधनहरु दुर्घटना हुने तथा सर्वसाधारणमा रुघाखोकी, ज्वोरो, दम तथा श्वासप्रश्वासका रोगी वृद्धि हुन थालेका छन् ।