फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लक्षित आचारसंहिता जारी भए पनि त्यसको उल्लंघन रोकिएको छैन । माघ ६ गतेपछि करीब तीन साताको अवधिमा आचारसंहिता उल्लंघन गरे वापत निर्वाचन आयोगले ५० जनालाई स्पष्टीकरण सोधेकोबाट पनि उल्लंघनको अवस्था अनुमान लगाउन सकिन्छ ।
केही ठाउँमा पैसा बाँडेको, सरकारी स्रोत साधनको दुरुपयोग तथा मापदण्ड विपरित उम्मेदवारको प्रचार सामग्री राखेको आरोप बाहेक धेरैजसो आचारसंहिता उल्लंघनका घटना सामाजिक सञ्जालसित सम्बन्धित छन् । सामाजिक सञ्जालमा गरिएको पोष्ट र दिईएको अभिव्यक्तिसित नै बढीजसो आचारसंहिता उल्लंघनका घटना जोडिएका छन् । कुनै कुनै सञ्चारकर्मी समेतले उम्मेदवार लक्षित भ्रमक र अमर्यादित सन्देश प्रवाह गरेको भेटिएपछि निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाल मार्फत केही स्पष्टीकरणहरु सोधको छ । स्वच्छ, मर्यादित र शान्तिपूर्ण निर्वाचन सबैको चाहना हो । यसका लागि निर्वाचन आचारसंहिताको पालना गरिनै पर्ने हुन्छ ।
निर्वाचन आयोगले आचारसंहिता पालनका लागि सबैमा आग्रह गर्दै आएको पनि छ । तर यसका बाबजुद पनि आचारसंहिताको उल्लंघन हुन नछाड्नु चिन्ताको विषय हो । एउटाले आचारसंहिता उल्लंघन गर्दा अर्कोले पनि त्यस्तै गर्ने सम्भावनालाई नकार्न सकिँदैन । त्यसैले यो क्रम बढ्न सक्छ भन्नेमा सचेत हुनुपर्ने आवश्यकता छ । अटेर गरी आचारसंहिता उल्लंघन गर्नेमाथि तत्कालै कारवाही चलाई यो बेथितिमाथि नियन्त्रणको आवश्यकता छ ।