• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
संघीय राजधानी काठमाण्डौं लगायत अन्य कतिपय जिल्लामा समेत खाना पकाउने एलपी ग्याँसको अभाव देखिन थालेको छ । 
ग्याँस आपूर्तिकर्ता नेपाल आयल निगमले पर्याप्त ग्याँस आपूर्ति भईरहेको दावी गरिरहँदा बाणिज्य विभाग भने माग अनुसारको आपूर्ति नभईरहेको अनुगमनका क्रममा भेटिएको निष्कर्षमा पुगेको छ । राजधानी काठमाण्डौंमा ग्याँस नभेटिँदा उपभोक्ता समस्यामा छन् । मोफसलका अन्य कतिपय जिल्लामा पनि मागको अनुपातमा ग्याँसको आपूर्ति कम रहेका कारण पालो पर्खेर ग्याँस बिक्रीविरतण सुरु गरिएको छ । यदाकदा कुनै डिलर कहाँ ग्याँस आई हाले कही मिनेटमै सकिने र अधिकांश उपभोक्ताले रित्तो हात फर्किनु परिरहेका कारण बजारमा खाना पकाउने ग्याँसको अभाव छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । एकातिर निगमले पर्याप्त ग्याँस आपूर्ति भईरहेको दावी गरिरहने र अर्कोतर्फ ग्याँसको खोजी गर्दै उपभोक्ताले हैरानी व्यहोर्नु पर्ने अवस्था रहनु भनेको विरोधाभाषपूर्ण अवस्था हो । त्यसमाथि सरकारी निकाय नै रहेको बाणिज्य विभागले पनि बजार अनुगमन गर्दा आवश्यकता अनुसारको परिमाणमा ग्याँस उपलब्ध नरहेको निष्कर्ष निकालेको छ । 
तसर्थ मागको अनुपातमा बजारमा ग्याँस आपूर्ति गर्नेतर्फ आवश्यक कदम चाल्नुपर्ने यति बेलाको आवश्यकता हो । पैसा तिरेर ग्याँस किन्न जाँदा पनि उपभोक्ताले रित्तै हात फर्किनु पर्ने अवस्था छ भने पछि निगमले आपूर्तिको डाटालाई मात्र आधार मानेर वस्तु भन्दा ग्याँसको आपूर्ति बढाउने तर्फ लाग्नु पर्ने आवश्यकता छ ।