• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु खेर जान दिनु हँदैन : उपेन्द्र

सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु खेर जान दिनु हँदैन : उपेन्द्र
न्यूज टुडे
राजविराज, २६ माघ । 
जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले कठोर सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु खेर जान दिन नहुँने बताएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ स्थित फत्तेपुरमा सोमबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै अध्यक्ष यादवले  लामो संघर्षबाट  मधेशी लगायत देशका उपेक्षित, उत्पीडित समुदायको आरक्षण सुनिश्चित भएको भन्दै उपलब्धीहरु जोगाउन आम जनता गम्भीर बन्नुपर्नमा जोड दिए । 
न्याय, समता, पहिचान र अधिकारकालागि मधेश जनविद्रोह भएको चर्चा गर्दै उनले भने ‘’लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण हुनु मधेश जनविद्रोहको उपलब्धी हो, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु खेर जान दिनुहँदैन, प्राप्त उपलब्धीको रक्षा र बाँकी अधिकारका सङ्घर्ष गर्न आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत शक्ति बनाएर पठाउनु आवश्यक छ ।‘
आरक्षणकै कारणले आज सरकारी सेवाका साथै राज्यका हरेक अंगहरुमा मधेशी, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक लगायत वहिष्करणमा पारिएका जाती तथा समुदायका अनुहारर देखिन थालिएको सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले बताए । 
मधेशमा सरकारी लगानी न्यून रहेका कारण हरेक क्षेत्रमा पछाडि परेको चर्चा गर्दै उनले भने ‘मधेश अझैं अभाव र समस्याग्रस्त छ, गाउँमा बाटो छैन, सुविधासम्पन्न अस्पताल छैन, न गुणस्तरीय शिक्षा छ, न रोजगारी छ, चरम गरिबी पनि कायमै छ, मधेशबाट ७० प्रतिशत राजश्व सङ्कलन हुने गर्दछ तर लगानी मात्र ११ प्रतिशत छ ।’ 
हिजोसम्म शासन सत्तामा रहेकाहरु सङ्घीयतामाथि नै प्रहार गरेर सबै उपलब्धीहरु समाप्त पार्ने दाउमा रहेको उल्लेख गर्दै  अध्यक्ष यादवले ती उपलब्धीहरु जोगाउन आफुहरु जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको बताए ।
 सङ्घीय शासन व्यवस्था भएका देशहरु विकास र समृद्धिको पथमा अगाडि बढेको दावी गर्दै जसपा नेपालका अध्यक्ष यादवले भने ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाएर गलत भाष्य निर्माण गर्नेहरु शोषित, उत्पीडित, वहिष्कृत एवम् पछाडि पारिएका समुदायको हितैषी कदापि हुन सक्दैन, त्यसैले परिर्वन विरोधीहरुलाई आफ्नो मतले जवाफ दिनुपर्छ ।’
चुनावी छलफल तथा भेंटघाटका क्रममा जसपा नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, मेयरका प्रत्यासी बेचु साह, युवा नेता राजेश्वर राय, शान्ता मेहता, ओमप्रकाश यादव लगायतले आ–आफ्नो धारणा राखे ।
सोमबारै डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ६ का कटैया, बिसनपुर, औरही, जमुवा लगायतका टोलहरुमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष यादव लगायतका नेताहरु सहभागी भएका छन् ।