उत्तम आचार्य
कन्चनरुप , २५ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरमा दोस्रो गोर्खा खुकुरी कप फुटबल प्रतियोगिता शुरु भएको छ । रिभर साइड युवा क्लब कन्चनरुप १२ धरमपुरले प्रतियोगिता आयोजना गरेको हो ।
कन्चनरुप १२ सुन्दरी खेल मैदानमा क्लबका अध्यक्ष बिजय कुमार राइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका पुर्व सदस्य सुमनराज प्याकुरेलले फुटबल खेल प्रतियोगिताको उद्घाटन गरे ।
खेलको उद्घाटन गर्दै प्रमुख अतिथि प्याकुरेलले खेलाडी भनेको देशको कर्णधार भएकोले खेलाडी र खेलकुदको बिकासमा आफू दत्तचित्त भएर लाग्ने बताए ।
खेलाडीहरुलाई मर्यदित र अनुशासित भएर खेल खेल्न आग्रह गर्दै अहिले युग खेलकुदको युग भएकोले अहिले नेपालमा खेलाडीहरुले खेलकुदमा एकपछि अर्को सफलता हासिल गरेको भन्दै खुशी व्यक्त गरे ।
उनले नेपालको नाम उचो राख्न सफल भएकोमा खेलाडीहरु बधाई तथा सम्मान ब्यक्त गर्दै खेलाडीको मनोबल बढाउन सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
उद्घाटन खेल ब्रदर्श युवा क्लब दुधौली सिन्धुली र सोमबारे फुटबल क्लब चतरा उदयपुर बिच भएको थियो ।
खेल शुरु भएको पहिलो हाफको १५ मिनेटमा ब्रदर्श युवा क्लबका जर्सी नम्बर ७ का प्रज्वल कार्कीले १ गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको १५ मिनेटमा सोमबारे फुटबल क्लबका जर्सी नम्बर ७ का दिपेन तामाङले १ गोल गरि खेललाई बराबरीमा ल्याए ।
निर्धारित समयमा बराबरी भएपछि ट्राइबेकर ( पेनाल्टी ) मा सोमबारे फुटबल क्लब उदयपुरले ५ गोल र ब्रदर्श युवा क्लबले ३ गोल मात्र गर्न सक्यो र सोमबारे फुटबल क्लब ५ – ३ गोलको अन्तरले बिजयी भएको आयोजकले जनाएको छ ।
म्यान अफ दि म्यच सोमबारे फुटबल क्लबका जर्सी नम्बर ११ का संदिप श्रेष्ठ घोषित भए ।
सोमबारको खेल बिराटनगर एकेडेमी मोरङ र गोलबजार युनाइटेड क्लब सिराहा बिच हुने र जम्मा ८ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार १ सय ११ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ पुरस्कार प्रदान गरिने आयोजक क्लबका सचिब बिश्वास थापाले बताए ।
कार्यक्रम संचालन सरोज राना मगरले गरेका थिए ।