न्यूज टुडे
राजविराज,२५ माघ ।
राजविराजमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत सप्तरीले लगातार दोस्रो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा महोत्तरीलाई ३ विकेटले पराजित गर्दै सप्तरी लगातार दोश्रो जीत हाँसील गरेको हो ।
जित संगै सप्तरीले प्रतियोगितामा आफ्नो मजबुत उपस्थिति देखाएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभर खेल्न नसक्दै ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो।
महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२ रन बनाए। त्यसैगरी अभिषेक तिवाडीले २१ रन र आदित्य मण्डलले ११ रन जोड्दा अन्य ब्याट्सम्यानहरू उल्लेखनीय प्रदर्शन गर्न असफल रहे। सप्तरीको कसिलो बलिङका कारण महोत्तरीका ब्याट्सम्यानहरू निरन्तर दबाबमा परेका थिए।
बलिङतर्फ सप्तरीका अभिषेक कार्की सर्वाधिक प्रभावशाली देखिए। उनले ३ विकेट लिँदै महोत्तरीको मध्यक्रम ध्वस्त पारे। नितेश यादव र अजय यादवले समान २–२ विकेट लिएर टिमलाई लक्ष्य सीमित राख्न महत्वपूर्ण भूमिका खेले।
१ सय ६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सप्तरीको जितमा भोला साहले ३० रनको महत्वपूर्ण पारी खेले भने पप्पु यादव (बि) ले २९ रन जोडे। रोहन बिकले २६ रन बनाउँदा अभिषेक कार्कीले ब्याटिङतर्फ पनि २३ रनको योगदान दिए। रोबिन सिंहले १८ रन बनाए।
महोत्तरीका लागि बलिङतर्फ रमेश सहनीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। नितेश यादवले २ विकेट लिँदा आकाश मण्डलले १ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको उत्कृष्ट प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए।
सप्तरी क्रिकेट संघका सदस्य रोशन मण्डलका अनुसार प्रतियोगिता अन्तर्गत सोमबार सप्तरी र धनुषाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। लगातार दुई जितसँगै सप्तरीको मनोबल उच्च देखिएको छ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास रहेको छ। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन्।