• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इप्रका कंचनपुरमा डिएसपी रायमाझीको आगमन : शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता

इप्रका कंचनपुरमा डिएसपी रायमाझीको आगमन : शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता
उत्तम आचार्य
कञ्चनरुप,२५ माघ ।
सप्तरीको इलाका प्रहरी कार्यालय कंचनपुरको प्रमुखको रुपमा प्रहरी नायव उपरीक्षक ( डिएसपी) राजन रायमाझी आएका छन् ।  डिएसपी माधव प्रसाद काफ्लेको सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी रायमाझी आएका हुन् । 
प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौबाट सरुवा भइ आएका डिएसपी रायमाझीले आफ्नै कार्यकक्षमा आइतबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरेका छन् । 
कार्यक्रममा बोल्दै डिएसपी रायमाझीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कठोर कदम चाल्ने बताए । हालको प्रमुख जिम्मेवारी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने भएको बताउँदै उनले नागरिकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ठोस रणनीति बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 
सडक सुरक्षा, लागूऔषध प्रयोग तथा तस्करी, होटलहरुमा हुने अवैध धन्दा, प्राकृति श्रोत साधन दोहन र बनपैदावरको चोरी निकासी घटना वृद्धि भइरहेको पत्रकारहरुले उठाएको सवालको जबाफ दिदै उनले सम्बन्धित तथा सरोकारवालाहरुसंग छलफल गरेर नियन्त्रण तथा नियम गर्ने बताए ।
पुलिस र पत्रकारहरुको सहकार्यले मात्र नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सकिने उल्लेख गर्दै उनले प्रहरीले पूरा गर्नु पर्ने  दायित्व र सवालहरु उठाएर खबरदारी गरिदिन आग्रह गरे ।
 पत्रकारहरुको सम्मान, सुरक्षामा कमी हुन नदिने र सार्वजनिक चासो र सरोकारका सूचना आदानप्रदानमा सहज बनाउने बताउँदै उनले निर्धक्कको साथ ढुक्क भएर समाचार सम्प्रेषण गर्ने बाताबरण मिलाउने प्रतिबद्धता व्यक्त गरे । 
उनले विगतमा पत्रकार र प्रहरी वीच हुँदै आएको सुमधुर सम्बन्धलाई निरन्तरता दिदै  आफ्नो कार्यकालमा सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे । 
उनले जबर्जस्ती करणी, महिला तथा बालिकामाथि हुने हिंसा, ज्यान मार्ने घटना जस्ता फौजदारी अपराधमा शन्यू सहनशीलता राखी अगाडि बढ्ने बताए । सेवाग्राहीलाई कुनैपनि बहानामा काखपाखा नगर्ने तथा कानून कार्यान्वयनमा कसैको दवाव तथा प्रभावमा परी बङ्ग्याउने कार्य नगर्ने र गर्न नदिने उनले बताए । 
यस अघिका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएको छ ।