न्यूज टुडे
राजविराज,२५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिताराम साहले जेनजी बिद्रोहका प्रमुख मुद्दा देशमा भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्ने लक्ष्य साकार पार्न उम्मेदवारी दिएको बताएका छन् । सप्तरीको खडक नगरपालिका ६ स्थित कल्याणपुरमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार भेटघाटमा बोल्दै साहले देशमा सुशासन, समृद्धि र विधिको शासन कायम गर्न नेतृत्व परिबर्तन हुनुपर्ने बताए । देशको दिशा र दशा बदल्न युवाहरूलाई देशको नेतृत्व दिनुपर्ने उनले जोड दिए ।
‘पुराना दलहरू देश चालाउन असफल हुँदा देशको अवस्था थप जर्जर हुन गयो, देशको दशा र दिशा बादल्न जेनजी पुस्ता सडकमा निस्कियो’उनले भने,’युवापुस्ताको भावनाको कदर भन्दा तत्कालिन ओली सरकारले दमनको नीति लिए ,७६ जना निहत्था बालबालिकामाथि गोली बर्सायो, उनीहरु सहिद भए ।”
जेनजी सहिदहरुले उठाएको मुल मुद्दालाई स्थापित गर्न र समृद्धि, सुशासन र विधिको शासन कायम गर्न रास्वपाबाट उम्मेदवारी दिएको बताउँदै उनले विदेशीन बाध्य युवा पुस्तालाई स्वदेशमा रोजगारी सिर्जना गर्न देशले सहि नेतृत्व खोजेकोले यसलाई सार्थक पार्ने कार्यमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी संघीयता विरोधी नभएको जिकिर गर्दै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह ( बालेन) ले जनकपुरको खुल्ला मञ्चबाटै संघीयतालाई मजबुत बनाउने उद्घोष गरेको स्मरण समेत गरे ।
बालेनले छोटो अबधिमा माहननगरपालिकामा गरेको काम देखेर पार्टीले भावी प्रधानमन्त्री घोषणा गरि चुनावमा होमिएकोले देशको शासन व्यवस्था र जनताको अवस्था फेर्नका लागि जनताले आफुलाई भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे ।
उनले सबैको सल्लाह सुझावबाट यस क्षेत्रको सर्वाङ्गिण विकासका लागी संसदमा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
जेनजी आन्दोलनका घाइते विकास कुमार यादवले बर्तमान सरकारबाट न्यायको आशा मरि सकेकोले अन्यायको विरुद्ध संघर्ष गर्दै आएका पार्टीका उम्मेदवारलाई समर्थन गर्न आएको बताए । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री हुँदा शेर बहादुर देउवा दम्पती लगायत ठूला भ्रष्टाचारीमाथि डण्डा चलाएपछि उनको कामबाट प्रभावित हुन पुगेको बताउँदै उनले बालेन र रवि जस्ता युवाको नेतृत्वले मात्र जेनजी बिद्रोहको आकाँक्षा पूरा हुने दावी गरे ।
सप्तरी बोदेबर्साइन नगरपालिका १ घर भएका यादवले गत भदौ २३ गते काठमाडौ स्थित तिनकुनेमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएको बताए ।