• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पिएम कप: धनुषाको जित
न्यूज टुडे
राजविराज,२४ माघ ।
राजविराजमा जारी प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत शनिबार सम्पन्न खेलमा धनुषा बिजयी भएको छ  ।सिरहालाई ४६ रनले पराजित गर्दै धनुषाले जित हासिल गरेको हो।
सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उक्त खेलमा टस जितेर सिरहाले पहिले फिल्डिङ रोज्दै धनुषालाई ब्याटिङको निम्तो दिएको थियो।
पहिले ब्याटिङ गरेको धनुषा टोली ३१ ओभर १ बलमै सबै विकेट गुमाउँदै १ सय ३२ रनमा समेटिएको थियो।
 धनुषाका लागि अखिलेश ठाकुरले २२ रनको सर्वाधिक योगदान दिए भने विशाल सुश्लिंगले १९, हरिशंकर साहले १४, मयन यादवले १३ रन बनाए। यस्तै अली अकबर र हिमान्सु दत्तले समान १२–१२ रनको योगदान दिएका थिए।
सिरहाका बलरहरूको कसिलो प्रदर्शनका कारण धनुषाका ब्याट्सम्यानहरू लगातार धरापमा परेका थिए। बलिङतर्फ सिरहाका दुर्गेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा ३८ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए। यस्तै प्रदिप पासवानले ४ विकेट तथा अफरूद्विन रायनले १ विकेट लिएका थिए।
१ सय ३३ रनको लक्ष्य पछ्याएको सिरहा टोली ३० ओभर ३ बलमा मात्र ८६ रनमै अलआउट हुन पुग्यो। सिरहाका लागि दिपेश दासले ३७ रन र राकेश कामतीले २७ रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
धनुषाका बलरहरूले अनुशासित र आक्रामक बलिङ गर्दै सिरहाका ब्याट्सम्यानहरूलाई सस्तोमै आउट गरेका थिए। बलिङतर्फ विशाल सुश्लिंगले ९ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिँदै निर्णायक भूमिका खेले। यस्तै अभिजित मण्डल र हरिशंकर साहले समान २–२ विकेट लिए भने रूपेश यादव र अखिलेश ठाकुरले १–१ विकेट हात पारे।
उत्कृष्ट अलराउण्ड प्रदर्शनका कारण धनुषाका विशाल सुश्लिंग ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनलाई मधेश प्रदेश क्रिकेट संघका सदस्य मुकेश कुमार साहले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए।
यसैगरी साे खेलमा सिरहाका दुर्गेस यादबले एकै खेलमा ५ बिकेट लिएपछि सँघका सदस्यका संजय कार्कीले बल प्रदान गरेका थिए। सप्तरी क्रिकेट संघका सदस्य डम्बर नारायण दासका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार सप्तरी र महोत्तरीबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। 
प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन्।