फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन जति नजिकिँदै छ, उम्मेदवारहरुको सक्रियता पनि त्यही अनुरुपले तिब्र बन्द गएको छ । फागुन ४ गते देखि चुनावी प्रसारको मिति तोकिएको भएपनि उम्मेदवारहरुले गाउँ धाउने क्रम धेरै अघिदेखि सुरु भएको छ ।
सप्तरीमा पनि यस्तो सक्रियता धेरै देख्न थालिएको छ । अरु बेला गाउँघरतिर जानुको साटो जिल्ला आएको बेला सदरमुकाममै रहन रुचाउनेहरुलाई पनि यति बेला गाउँघर तिर समय दिनमै रुची जागेको छ । जनतालाई रिझाउन र आफ्ना पक्षमा मतदानका लागि आग्रह गर्न यस प्रकारको सक्रियता बढेको हो भनेर बुझ्न गाह्रो नपर्ला । चुनाव विगतमा पनि भएकै हुन् । त्यति बेला पनि उम्मेदवारले प्रतिबद्धताका ठेली नै वितरण नगरेका होईनन् । चुनाव सम्पन्न भयो । तर जितेर गएकाहरुले गरेको प्रतिबद्धताको अनुपातमा के कति काम गरे भन्ने कुराका साक्षी पनि यिनै जनता हुन् भन्दा अन्यथा नहोला । मत माग्ने बेलामा सम्भव, असम्भव सबैखाले प्रतिबद्धता व्यक्त गर्ने तर काम चाहीँ त्यसको अति न्यून अनुपातमा पनि नगर्ने हो भने त्यो जनतालाई अलग ल्याउनका लागि सपना मात्र बाँडिएको रुपमा लिन सकिन्छ ।
तसर्थ यसरी सपना मात्र बाँडनु भन्दा सम्भव कुरा प्रति प्रतिबद्धता जनाउने र अवसर प्राप्त भएका बखत त्यसलाई पूरा गर्ने तर्फ लाग्न सकियो भने मात्र राजनीति दीगो हुन्छ भन्ने कुराप्रति हेक्का राखिनु उत्तम हुनेछ ।