• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पिएम कप: महोत्तरी विजयी
न्यूज टुडे
राजविराज,२३ माघ ।
राजविराजमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता (पुरुष) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा महोत्तरी विजयी भएको छ ।  धनुषालाई  ६० रनले पराजित  गर्दै  महोत्तरीको विजयी भएको हो।
सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गतको खेलमा टस जितेर धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो।  ब्याटिङको अवसर पाएको महोत्तरीले संयमित प्रदर्शन गर्दै ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो।
महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७/२७ रनको योगदान दिए। त्यसैगरी श्याम मण्डलले २२ रन बनाउँदा अभिषेक तिवारीले १४ रन जोडेका थिए। अन्य खेलाडीले सानो–सानो योगदान गरेपछि महोत्तरीले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो।
बलिङतर्फ धनुषाका हरिशंकर र विशाल सुश्लिङले प्रभावशाली प्रदर्शन गर्दै समान ३/३ विकेट हात पारे। अभिजित मण्डलले २ विकेट लिन सफल हुँदा अखिलेश ठाकुरले १ विकेट झारेका थिए।
१ सय ६८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको धनुषाले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। महोत्तरीका बलरहरूको कसिलो बलिङका कारण धनुषा २७ ओभर १ बलमै सबै विकेट गुमाएर मात्र १।सय ७ रनमा सीमित हुन पुगेको थियो। धनुषाका लागि मयन यादवले सर्वाधिक ३९ रन बनाए। 
श्याम रायले १७ रन र रूपेश यादवले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।
महोत्तरीको जितमा रमेश सहनीले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। उनले ९ ओभर बलिङ गर्दै २ मेडन राखी मात्र २५ रन खर्चेर ४ विकेट हात पारे। त्यस्तै आकाश मण्डलले ३ विकेट लिए भने अभिषेक तिवारीले १ विकेट लिन सफल भए।
उत्कृष्ट प्रदर्शन गरेका महोत्तरीका रमेश सहनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।  उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र कुमार यादवले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए।
सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रतियोगिता अन्तर्गत शनिबार धनुषा र महोत्तरीबीच पुनः प्रतिस्पर्धा हुने तालिका रहेको छ।
प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास रहेको छ। प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन्।