• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘जनता दरबार”अभियानका साथ डा. राउत चुनावी दौडमा

‘जनता दरबार”अभियानका साथ डा. राउत चुनावी दौडमा
न्यूज टुडे
राजविराज,२० माघ । 
 जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. सिके राउतले  चुनावी अभियानलाई तीब्र पार्दै लगेका छन् । ‘जनताको दरबार’ नामक अभियान लिएर उनले  सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का जनताको घरघरमा पुगेर भेटघाटलाई तीव्रता दिएका हुन् ।
विकासको योजनासहित राजनीतिक एजेन्डा लिएर गएका कारण उनी  मजबुत बन्दै गएको समर्थकहरुको दावी छ ।  डा. राउतको सक्रिय पहल र निरन्तर दबाबका कारण क्षेत्रमा झण्डै एकहजार हाराहारीका विकास योजनाहरू स्वीकृत भई विभिन्न चरणमा कार्यान्वयनमा पुगेको जनमत पार्टीका  एक प्रभावशाली नेताले न्यूज टुडेलाई  बताए । यी योजनाहरुले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
 रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यकाल सकिएपछि पनि डा. राउतले निरन्तर पहल जारी राखे। 
उनको प्रयत्नकै परिणामस्वरूप नयाँ शिराबाट समितिको म्याद थप गरिनु  सप्तरीका लागि सकारात्मक  कार्य भएको जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह बताउछन् । यसले भविष्यमा चिकित्सक उत्पादन, रोजगारी सिर्जना तथा स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाउने उनको दावी छ ।
डा. राउतको नेतृत्वमा अघि बढाइएका अन्य महत्त्वपूर्ण परियोजनाहरूले पनि क्षेत्रको विकास चित्र स्पष्ट देखाएको उनी बताउछन् । 
 गजेन्द्रनारायण सिंह आश्रमको नयाँ निर्माण, पुनःसंरचना तथा विकासमार्फत ऐतिहासिक र सामाजिक सम्पदालाई जोगाउने काम अघि बढाइएको छ। 
त्यस्तै, आधुनिक प्रविधितर्फ क्षेत्रलाई जोड्ने उद्देश्यले एआई रोबोटिक्स सेन्टर स्थापना गर्ने अवधारणा र स्पेस सेन्टरसम्बन्धी पहलले युवा पुस्तामा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रतिको आकर्षण बढाएको  बताइन्छ ।। यस्तै औद्योगिक ग्रामको संरचनाहरुको भौतिक निर्माण,
पूर्वाधार विकासतर्फ विभिन्न नदीहरूमा पुल निर्माण, ग्रामीण तथा सहरी बस्ती जोड्ने सडक सञ्जाल विस्तार, विद्यालयहरूमा नयाँ भवन तथा पुस्तकालय निर्माणजस्ता योजनाहरूले शिक्षा र यातायात क्षेत्रमा दीर्घकालीन सुधारको आधार तयार हुने अपेक्षा गरिएको छ । यी योजनाहरूले विद्यार्थी, किसान, व्यापारी र सर्वसाधारणलाई प्रत्यक्ष राहत पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
चुनावी अभियानअन्तर्गत सञ्चालन भइरहेको ‘जनता दरबार’ कार्यक्रममार्फत डा. राउत स्वयं जनताका घर–आँगनमा पुगेर उनीहरूको दुःख–सुख सुन्ने, समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्धता जनाइहेको  प्रति स्थानीयल्ले खुशी व्यक्त गरेक छन्। यो सक्रियताले नेता र जनता बीचको सम्बन्ध दरिलो बन्दै जाने उनीहरुको प्रतिक्रिया छ । 
डा. राउतले समानुपातिक समावेशिता, प्रदेशको अधिकार सुनिश्चितता, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने नीतिलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेको कारणले नै उनको लोकप्रियता बढेको जनमत पार्टीका कर्याकर्ताहरुको दाबी छ । 
जनमत पार्टीको घोषणापत्रमा समेत समेटिएका यी विषयहरू व्यवहारिक र समय सापेक्ष रहेको उनीहरु बताउछन् ।
 विकास र निकासको स्पष्ट रोडम्यापसहित अघि बढिरहेका डा. राउतलाई यस क्षेत्रका मतदाताले भरोसायोग्य विकल्पका रूपमा लिन थालेको बताइन्छ ।
पाँच वर्षमा हुनुपर्ने चुनाव साढेतीन वर्षमै भइरहे पनि न्युन समयमै डा .राउतको पहलमा प्रारम्भ भएको विकास निर्माणका कारण उनी क्षेत्रमा सशक्त बन्दै गएको जिल्ला इन्चार्ज साहको जिकिर छ । 
 उनले थपे,, ‘मधेशी, आदिवासी जनजाती, मुस्लिम, पछाडी पारिएका वर्गको पक्षमा संसदमा निरन्तर आवाज उठाएका  कारण डा. राउत मतदातामाझ लोकप्रिय  बन्नुभएको छ ।’