न्यूज टुडे
राजविराज,२० माघ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका पार्टीका केन्द्रीय सदस्य डा. दिपक चौधरीले उम्मेदवारी मनोनयन गरेदेखि नै सप्तरीबासीको अपार माया र समर्थन पाएको बताएका छन्। राजविराजमा मंगलबार न्यूज टुडेसंग कुराकानी गर्दै उनलेे यस्तो बताएका हुन् ।
उनले पुरानो पार्टी र नेताले जनविश्वास गुमाएकाले नयाँ आशाको साथ जनविश्वास जित्न सफल भएको बताए । डा. चौधरीले दिनप्रतिदिन जिल्लाको समग्र विकास चाहने बौद्धिक व्यक्तित्वहरु पार्टीमा जोडिएको भन्दै खुशी व्यक्त गरे ।
देशमा लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपाल बनाउने असल नेतृत्व कुलमान घिसिङको पार्टीबाट उम्मेदवारी दिएको भन्दै उनले जिल्लावासीको अपार माया र समर्थन पाइरहेको बताए । आफैपनि घिसिङको कार्यशैलीबाट प्रभावित भएर सरकारी जागिरबाट राजिनामा दिएर राजनीतिमा आएको बताउँदै उनले सही नेतृत्वले मात्र सुशासन र विकासको आकांक्षा पुरा गर्न सक्ने स्पष्ट गारे ।
विधुत प्राधिकरणको प्रबन्धकबाट राजिनामा दिएर राजनीति यात्रामा लागेका डा. चौधरीले आफ्नो दुइदशकको व्यवस्थापकीय अनुभवलाई सप्तरीको सर्वाङ्गीण विकास र समृद्धिको निम्ति खर्चिने सोच लिएर अगाडि बढेको बताए । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार डा. चौधरीले आफ्नो जीत सुनिश्चित भएको दावी गरे ।
राजविराज नगरपालिका १३ स्थित बिषहरिया निवासी ५२ बर्षिय डा. चौधरी ‘नेतृत्व र सुशासन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका अनुभवी नेताको रुपमा चिनिन्छ । उनको “नेपालको मधेसी समाज,रुपान्तरण,पूर्वी एसियाको आँखीझ्याल,तराइ मधेस अफ नेपाल’ लगायतका दर्जनौं दर्शन तथा कृतिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रकाशित भएको छ ।
२० बर्षको प्रशासनिक तथा व्यवस्थापकीय लामो अनुभव भएका डा. चौधरी तराई मधेसलाई नजिकबाट बुझेको विकासविद, लेखक, सामाजिक अभियानताको रुपमा चिनिन्छ ।
डा. चौधरीको उम्मेदवारीले अहिले राजनीति बृत उच्च चर्चामा रहेको छ । राष्ट्रिय पार्टीका प्रभावशाली अध्यक्ष डा. सिके राउत उम्मेदवार हुँदा नयाँ पार्टी र नेतृत्वको विषयमा चियापसलदेखि पान पसलसम्म चर्चा चुलिएको छ । यसले सप्तरीको चुनावी माहोल उच्च बनेको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जसपा नेपालबाट पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, राष्ट्रिय स्वाभिमान पार्टीबाट मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह, नेपाली काँग्रेसका राम कुमार यादव, रास्वपाबाट इन्जिनियर रामजी यादव र जनअधिकार पार्टीबाट राष्ट्रिय अध्यक्ष शरद सिंह यादवलेसहितकाले उम्मेदवारी दिएका छन् ।
निबर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको छ भने पूर्व सिंचाइ मन्त्री यादव गुमेको शाख फर्काउने कसरतमा छन् । त्यस क्षेत्रका जनताले दोहोर्याएर प्रतिनिधि छनौट गर्न नरुचाउने इतिहासले पनि डा. चौधरीको उम्मेदवारीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीति तरंगीत बनेको छ ।