न्यूज टुडे
राजविराज,२० माघ ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. दिपक चौधरीले छिन्नमस्ता र राजबिराजलाई जोडेर सास्ंकृतिक पर्यटकीय नगरीको रुपमा विकास गर्नकालागि आफू प्रयासरत रहने बताएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार उज्यालो नेपाल पार्टीको पालिका स्तरीय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै डा. चौधरीले छिन्नमस्ता र राजबिराजलाई जोडेर साँस्कृतिक पर्यटकीय नगरीको रुपमा विकास गर्नकालागि आफू प्रयासरत रहने र यसबाट मात्र यस क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने दावी गरे । उनले आसन्न निर्वाचनमा जनताले हाम्रो भन्दा राम्रो र योग्य नयाँ अनुहार छान्नु पर्नेमा जोड दिए ।
उज्यालो नेपाल पार्टी सप्तरीका संयोजक डा. सूर्य प्रसाद यादवले यस क्षेत्रको विकासको लागि योग्य उम्मेदवार छान्नु पर्नेमा जोड दिदै तब मात्र शिक्षा, स्वास्थय र विकास सम्भव हुने बताए ।
उक्त अवसरमा ललित यादवको नेतृत्वमा ११ सदस्यीय छिन्नमस्ता गाउँपालिका कमिटी गठन गरिएको छ । संयोजक ललित यादवको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला सल्लाहाकारहरु सुधारकर सिंह र अजित चौधरीले राम्रो उम्मेदवारको छनौटबाट मात्र सप्तरीको विकास सम्भव हुने बताए।
छोटो समयमा उज्यालो नेपाल पार्टी प्रति आम मानिस तथा अन्य पार्टीका मानिसहरुको आकर्षण बढदै गएको छ । पार्टीले चुनावी भेटघाट तीव्र गर्दे लगेको छ ।