• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार यादवमाथि प्रहरीले गरेको व्यावहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

पत्रकार यादवमाथि प्रहरीले गरेको व्यावहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण
न्यूज टुडे
राजविराज,१९ माघ । 
नेपाल पत्रकार महासंघ सप्तरीले दिनदहाडै घूस लिदै गरेको दृश्य क्यामेरामा कैद गर्ने क्रममा नेपाल प्रहरीले नयाँ पत्रिकाका सप्तरी सम्बाददाता सौरभ यादवसँग गरेको दुर्ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादवमाथिको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
‘मिति २०८२ साल माघ १८ गते दिउँसो जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज भन्सार कार्यालय अगाडि प्रहरीले व्यापारीसँग रकम लिदै गरेको पत्रकार यादवले क्यामेरामा कैद गर्न खोजेका थिए । त्यहीं क्रममा नेपाल प्रहरीका हवल्दार देवेन्द्र यादवले उनलाई जर्वजस्ती नियन्त्रणमा लिई करिव १५ मिनेटसम्म नियन्त्रणमा लिएका छन् ।” महासंघका सहसचिब डम्बर राईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ;-  ‘इमान्दारीपूर्वक ड्यूटी गर्नुपर्ने नेपाल प्रहरीले ड्यूटीकै समयमा व्यापारीसँग रकम लिनु र त्यो दृश्य खिच्न खोज्दा पत्रकारमाथि दुर्व्यवहार गर्नु लोकतन्त्रमाथिको ठाडो प्रहार हो। यो घट्‌ना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । हामी यसको घोर भर्त्सना गर्दछौं ।’
‘सीमा क्षेत्रमा प्रहरीले व्यापारीसँग किन र के कारणले रकम असुली गर्ने गरेका छन् ? त्यो बुझ्‌ने दायित्व सवैको हो। यो एक किसिमको भ्रष्टाचार हो र यो प्रवृत्तिले देशलाई नै गलत बाटोमा लैजान्छ । यस किसिमका प्रवृत्तिको फण्डाफोर गर्नु पत्रकारको दायित्व पनि हो ।’ विज्ञप्तिमा भनिएको छ । 
महासंघद्वरा जारी प्रेस विज्ञाप्तिमा पत्रकार यादवलाई अभद्र व्यवहार गर्ने प्रहरीलाई कडा कारबाही गर्न आग्रह समेत गरिएको छ । 
‘आफ्‌नो दायित्व निर्वाह गर्ने क्रममा पत्रकारमाथि दुर्ब्यवहार गर्ने र गर्न लगाउनेलाई हामी कार्वाही गर्न जोड्दार माग गर्दछौं।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागलाई वेवास्ता नगर्न हामी अनुरोध गर्दछौं ।’