न्यूज टुडे
राजविराज,१९ माघ ।
नेकपा एमालेका प्रभावशाली नेता जितेन्द्र नारायण देवले पार्टी परित्याग गरेका छन् । राजविराजमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीलाई ब्यक्तिवाद् र निजीकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहारसँग असहमत भएर पार्टी परित्याग गरेको बताए ।
पार्टी अध्यक्ष केपी ओलीको प्रवृत्तिले जेनजी आन्दोलनको अपमान गरेको भन्दै मधेस र मधेसीको पहिचान र अधिकारको कुरा उठाउँदा सुनुवाइ नहुने देखेर पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
‘बिगत लामो समय देखि देशमा बिद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरुको आम बिदेश पलायनको बिरूद्धमा आक्रोशको बिष्फोट थियो भदौ २३ गतेको जेन जी बिद्रोह’ उनले भने ‘यसलाई गम्भीर रूपमा नबुझी वा बुझ्न नचाही आफु सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘बिदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई ब्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी संचालन गर्ने बिचार नीति तथा ब्यबहार सगं असहमत भई आजैको मितिदेखि नेकपा (एमाले)को साधारण सदस्य समेतबाट राजिनामा दिन्छु ।’
अझै ६/७ बर्ष राजनीतिमा सक्रिय हुने भन्दै उनले छिटै नयाँ दलमा आबद्ध भइ नयाँ राजनीतिक यात्रा तय गर्ने बताए । उनले सहकर्मी नेताहरुसंग छलफल गरि अग्रगामी विचार र पहिचान पक्षधर पार्टीमा प्रवेश गर्ने जानकारी दिए ।