न्यूज टुडे
राजबिराज,१९ माघ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश कुमार यादवले सप्तरीका अधुरा र अलपत्रमा परेका योजनालाई पूर्णता दिन संघर्ष गर्ने बताएका छन् । प्रेस मञ्च नेपाल सप्तरीद्वारा राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्लामा संचालित देशकै गौरवको रुपमा रहेका योजनालाई पूर्णता दिन जनताको सुझाव र निर्देशनमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । पछाडि परेको जिल्लाको विकासलाई गति दिन उम्मेदवारी दिएको उल्लेख गर्दै उनले मतदातासँग सहयोग र समर्थनको अपिल समेत गरे।
उपेन्द्र यादवले सुरुवात गरेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस कृषि विश्वविद्यालय, नर्सिङ कलेज, इन्जिनियरिङ्ग कलेज, गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वाधार विकासका अधुरा योजनाको पूर्णताका लागि अग्रसर हुने बताउँदै उनले खाडो, जिता, खडक, मुतनी, बलान सहितका नदिबाट हुने समस्या समाधानका कार्यलाई प्राथमिकतामा राख्ने बताए ।
जिल्लाको समग्र विकास, संविधान संशोधन, आत्मनिर्णयको अधिकार, नेपालको स्वाधीनता, सप्तरी र मधेसको सम्मान तथा गौरवको रक्षा आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको यादवले पत्रकार सम्मेलनमा बताए ।
उनले विकास निर्माण, समान शिक्षा, उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासीको समस्या समाधान, कृषि क्षेत्रको विकास, युवाका लागि रोजगारी र अवसर सिर्जना तथा राज्यका नीति निर्माण प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिताका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफू निर्वाचित भएपछि जनतासँग सम्बन्ध टुट्ने भ्रम तोड्ने दाबी गर्दै विगतमा संविधानसभा सदस्य, व्यवस्थापिका संसद सदस्य तथा मन्त्री हुँदा पनि काठमाडौंभन्दा बढी समय निर्वाचन क्षेत्रमै बिताएको स्मरण गराए ।
जनप्रतिनिधि जनताको निगरानी, नियन्त्रण, निर्णय र निर्देशनमा चल्नुपर्छ,” भन्दै उनले यसका लागि टोलटोलमा जनपरिषद गठन गर्ने उल्लेख गरे ।
प्रतिनिधिसभा क्षेत्रमा ‘जनपरिषद्’ गठन गर्ने नयाँ अवधारणा अघि सार्दै उनले टोल, वडा र पालिका तहमा जनपरिषद् गठन गरी महिनामा नियमित बैठक, आधुनिक प्रविधिबाट जोडिने व्यवस्था तथा तिनै परिषद्को निर्णयअनुसार संसदमा आवाज उठाउने उनले योजना प्रस्तुत गरे । संसदमा आउने विधेयकहरू समेत जनपरिषद् छलफल गराएर जनमतका आधारमा संघर्ष गर्ने उनले बताए ।
राजबिराजको बिटोरी जग्गा प्रकरण, व्यापारी र व्यवसायीको पलायन, शैक्षिक संस्थाप्रतिको घट्दो विश्वास, कन्या छात्राबास र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै यादवले यी समस्याको समाधानलाई प्राथमिकतामा राख्ने बताए ।
कृषि क्षेत्रलाई उत्पादनसँगै वातावरण र जलसंकटसँग जोडेर हेर्नुपर्नेमा जोड दिँदै अत्यधिक रासायनिक मल र विषादी प्रयोगले माटो र स्वास्थ्यमा पारिरहेको असरप्रति चिन्ता व्यक्त गरे ।
“गरिबी, असमान शिक्षा, असुरक्षा, युवाको विदेश पलायन र कृषि संकट समाधान नगरी समाजवाद सम्भव छैन,” उनले भने । ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, क्लिन राजबिराज’को नारालाई व्यवहारमा उतार्दै आत्मनिर्भर नागरिक र सीपयुक्त युवा निर्माणका लागि सबै तहका सरकारमाथि दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।