• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीयता, पहिचान र प्रतिनिधित्वलाई व्यवस्थित गर्नु छ : उपेन्द्र

संघीयता, पहिचान र प्रतिनिधित्वलाई व्यवस्थित गर्नु छ : उपेन्द्र
न्यूज टुडे
राजविराज,१९ माघ ।
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले मुलुकको विकास र पछाडि पारिएका जाति समुदायको हक अधिकार सुनिश्चितताको लागि संघीयता, पहिचान र समानुपातिक प्रतिनिधित्वलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा सोमबार आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
चुनावी भेटघाटमा मञ्चासीन अध्यक्ष यादवसहितका नेतागण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसी, आदिबासी जनजाति थारु, दलितसहितको कठोर आन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । उनले उत्पीडित जाति समुदायको हक अधिकार स्थापित गर्न संघीयता, पहिचान र प्रतिनिधित्वसहितको मधेस आन्दोलनको बलमा प्राप्त उपलब्धि संरक्षण गर्नुपर्नेमा जोड दिए । पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र थप अधिकार प्राप्तिको लडाइँ आफुहरुले लडिरहेका बताउँदै उनले अधिकार सुनिश्चितताको लागि जसपा नेपालको उम्मेदवारहरुको जीत अपरिहार्य रहेको बताए । 
‘मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, जनजाति, थारु, मुस्लिम, आदिवासी, अल्पङ्ख्यक लगायतका जाति तथा समुदायको कोटाको सुनिश्चितता भएको हो। ‘ उनले भने ,’हिमालका शेर्पा ,मधेशी, दलित, महिला, मुश्लिम, थारु, आदिवासी जनजाति समेत कोटा सुनिश्चित भएको हो, हामीले मधेश आन्दोलन नगरेको भए एमाले काँग्रेस लगायतका पार्टीहरुमा पनि मधेशीले ठाउँ पाउने थिएन ।”
नेपालमै पहिचानको आधारमा एकमात्र मधेश प्रदेश स्थापना भएको चर्चा गर्दै अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा करिब ६० प्रतिशत मधेशको जनसङ्ख्या रहे पनि विकासीय बजेट मात्र ११ प्रतिशत दिने गरेकोले अझैं मधेसको अपेक्षित विकास हुन नसकेको बताए ।  उनले आदिवासी जनजाति, दलितसहित मधेश र मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि सङ्घर्ष जारी रहेकोले एकताबद्ध हुन आग्रह गरे । 
 देशमा ३५ वर्षसम्म कांग्रेस कम्युनिस्टले शासन सत्ता सञ्चालन गरेको चर्चा गर्दै उनले यस अबधिमा देशमा लुटतन्त्र र भ्रष्टाचार बाहेक अन्य केही गर्न नसकेको टिप्पणी गरे । 
 ‘३५ वर्ष अघि सञ्चालनमा रहेका सयौँ कलकारखानाहरु कांग्रेस कम्युनिस्टकै गलत नीतिका कारण बन्द भयो’ उनले भने ‘निजिकरण गरी सरकारी विद्यालय, अस्पताल समेतलाई धरासायी बनाएर देशलाई नै बर्वाद गर्ने काम भयो ।’
रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनीदेवी सरदारले दलितमाथि हुने भेदभाव अन्त्य गरि राज्यको मुल प्रवाहमा पुर्‍याउने कार्य उपेन्द्र यादवको नेतृत्वमा भएको उल्लेख गर्दै राष्ट्रिय अध्यक्ष उम्मेदवार पाउनु गर्वको कुरा भएको भन्दै भारी मताले विजयी गराउन आग्रह गरिन । 
स्थानीय नेता  पृथ्वीराज दासको  अध्यक्षतामा आयोजित कार्यक्रममा, समानुपातिक उम्मेदवारद्वय स्वस्तिका चौधरी, चुल्हाइ मण्डल, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ६ का वडाध्यक्ष बद्री नारायण सरदार स्थानीय जनप्रतिनिधि तथा स्थानीय नेताकार्यकर्ता, बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
जसपा नेपालका जिल्ला उपाध्यक्ष  एवम् रुपनी गाउँपालिकाका पूर्व अध्यक्ष हरेराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय युवा नेता वडाध्यक्षका प्रत्यासी उम्मेदवार ओमप्रकाश मेहताले गरे ।