न्यूज टुडे
राजविराज,१९ माघ ।
सप्तरीको राजबिराज नगरपालिका १४ का एमालेबाट निर्वाचित वडा सदस्य इन्द्र नारायण मण्डल उज्जयालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा सप्तरी २ नम्बर क्षेत्रका उज्यालो नेपाल पार्टीका उम्मेदवार समेत रहेका डा. दिपक चौधरीकोले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
मण्डलसंगै सुरेन्द्र प्रसाद मण्डल, माधव मुकन्द मण्डल, सिताराम मण्डललगायतका स्थानीय बुद्धिजीवीहरु उज्यालो नेपाल पार्टीमा प्रवेश गरेको उज्यालो नेपाल पार्टी सप्तरीले जनाएको छ ।
यसैगरी राजबिराज १४ वडा संयोजकमा स्थानीय समाजसेवी अशोक मण्डलको नेतृत्वमा १३ सदस्यीय उज्यालो नेपालको वडा कमिटी समेत गठन गरेको जनाइएको छ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपक चौधरीले कुलमान घिसिगंको नेतृत्वमा आर्थिक क्रान्ति ल्याउनु पर्ने र सप्तरीलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्नका लागि आफू यस क्षेत्रबाट उम्मेदवार उठेको बताए । उनले राजबिराजलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम उज्यालो नेपाल पार्टीका जिल्ला संयोजक डा. सूर्य प्रसाद यादवले राजबिराजलाई शिक्षा स्वास्थ्यको क्षेत्रमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिदै यसलाई सार्थक तुल्याउन उज्यालो नेपालका उम्मेदवारलाई भारी मतले विजयी बनाउन आग्रह गरे ।