न्यूज टुडे
राजविराज,१८ माघ ।
सप्तरीमा प्रहरीले एक पत्रकारलाई दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको छ । राजविराज भन्सार कार्यालयस्थित प्रहरी बिटमा रकम लिँदै गरेको दृश्य खिच्दा पत्रकार सौरभ यादवलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ मा रहेको प्रहरी बिटमा कार्यरत प्रहरी कर्मचारीले महिला व्यापारीसँग पैसा लिँदै गरेको फोटो तथा भिडियो खिच्दा प्रहरीले नियन्त्रणमा लिएको पत्रकार यादवले बताए ।
नेपाल प्रहरीका हबल्दार डी. यादवले नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता समेत रहेका यादवलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले यादवलाई करिब १५ मिनेट नियन्त्रणमा राखेर छाडेको छ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले पत्रकार यादवमाथिको दुर्व्यवहार घटनाको निन्दा गरेका छन् ।
उनले घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।