• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस विद्रोहबाटै आरक्षण सुनिश्चित भएको हो :  अध्यक्ष यादव

मधेस विद्रोहबाटै आरक्षण सुनिश्चित भएको हो :  अध्यक्ष यादव
न्यूज टुडे
राजविराज, १७ माघ । 
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहबाटै देशमा मधेशी, महिला, दलित, आदिवासी, जनजाती, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसङ्ख्यक लगायतका विभेदमा पारिएका समुदायको आरक्षण सुनिश्चित भएको बताएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ३, मुहर्निया गाउँमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मधेश आन्दोलन र उपलब्धीबारे चर्चा गर्दै उनले मधेश आन्दोलन नभएको भए देशका शोषित उत्पीडित जाति तथा समुदायको आरक्षणको सुनिश्चितता हुने  अवस्था नरहेको बताए ।  तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नेपालको आन्दोलन मधेशका सपूतहरुले दिएको बलिदानीका कारण अधिकार र अवसर सुनिश्चित भएको स्मरण गर्दै अझैं पनि बाँकी अधिकारका लागि सङ्घर्ष आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
अधिकार, पहिचान, स्वाभिमान र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्ने पार्टी जसपा नै रहेकोले यसलाई मजबुत बनाए मात्र शोषित उत्पीडित जाति, वर्ग एवम् पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित हुने उनले बताए । 
अधिकार प्रतिनिधित्व र न्यायसँगै विकास पनि आवश्यक रहेको र अधिकार प्रयोग गर्न पनि शैक्षिक रुपमा सबल एवम् सक्षम बन्नुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्यायमा पहुँचका साथै कृषिको विकास  उद्योग स्थापना हुनु आवश्यक छ ।’
जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायीत्व प्रदान गर्दै सबल बनाउनका लागि आमजनता सजग रहनुपर्ने अध्यक्ष यादवले बताए । शोषित उत्पीडित जनता जसपा नेपालको पक्षमा उभिनुपर्नेमा जोड दिँदै उनले भने ‘जसपा नेपाल मजबुत भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुन्छ र देश अधिकार, प्रतिनिधित्वसँगै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्नेछ ।’
कार्यक्रममा जसपा नेपालका नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव   पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, समानुपातिक उम्मेदवारहरु चुल्हाइ मण्डल, मानती सदा, स्वस्तिका चौधरी लगायतले मन्तव्य व्यक्त गरे ।
शनिवारै विष्णुपुर गाउँपालिकाको जमुनी, अण्डीपट्टी, बेल्हा, कट्टी र रंजितपुरमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई अध्यक्ष यादव लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।