न्यूज टुडे
राजविराज, १७ माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौ नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरे । तत्कालिन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्ष समेत रहेका उनी रास्वपामा केही दिन अघि प्रवेश गरी सक्रिय थिए ।
सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंग सहित कार्यकर्ता तथा समर्थकहरु पार्टीमा प्रवेश गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
मधेश र मधेशी जनताको हक अधिकारका लागि जनता समाजवादी पार्टी नेपाल लड्दैआएको तथा मधेशी जनताको भविष्य पनि यसमै रहेकोले आफु जसपा नेपालमा प्रवेश गरेको खंगले बताए ।
सप्तरी जिल्ला विकासको दृष्टिकोणले अझैं पछाडि रहेकोले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर आमजनतालाई सहयोग गर्न समेत उनले आग्रह गरे ।