• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो : उपेन्द्र

‘अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो : उपेन्द्र
न्यूज टुडे
राजविराज,१६ माघ ।
जसपा नेपालका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवले पुरानो राज्यसत्ताले धेरै बेइमानी गरेको र अबको परिवर्तन नयाँ पुस्ताको भविष्यको लागि हुने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा रहेका यादवले शुक्रबार न्यूज टुडेसंग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 
न्यूज टुडेसंगको प्रतिक्रियामा अध्यक्ष यादवले विभिन्न सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्ज्वल एवम् सुनिश्चित भविष्यको लागि हुने बताए ।  चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखन गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्नेमा जोड दिए । 
‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय ।” उनले भने, ‘राजनीतिक अस्थिरता, कमजोर सङ्घीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ ।’
जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन र पुनर्लेखन गरेर देशलाई निकास दिन पर्नेमा जोड दिए । 
राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको उनले बताए । 
उनले सङ्घीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने उल्लेख गरे । 
‘सङ्घीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो ।’ अध्यक्ष यादवले भने, अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’
राष्ट्रिय  पार्टीको अध्यक्ष पहिलो पटक सप्तरी ३ बाट उम्मेदवार बनेको भन्दै क्षेत्रबासी उत्साहित देखिएका छन् ।