उत्तम आचार्य
कन्चनरुप , १६ माघ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार सुमनराज प्याकुरेल मतदातासंग भेटघाटमा ब्यस्त छन् । प्रतिनिधि सभा सदस्य पदमा मनोनयन दर्ता गरेदेखि नै प्याकुरेल चुनावी भेटघाटमा व्यस्त भएका हुन् ।
शुक्रबार नेकपा एमाले कन्चनरुप १२ नम्बर वडा कमिटीद्वारा आयोजित वडा भेलालाई सम्बोधन गर्दै उनले देशलाई पुनर्निर्माणका लागि आफुलाइ मतदान गर्न आग्रह गरे । उनले आफू पदमा रहदा वा नरहदा पनि जनताको पक्षमा काम गर्दै आइरहेकोले सुखी नेपाली कसरी हुन्छन त्यतै तर्फ आफ्नो ध्यान केन्द्रित हुने गरेको बताए ।आफुले जितेमा १ नम्बर क्षेत्रको मात्र नभइ सप्तरीकै शिर झुक्न नदिने प्याकुरेलले प्रतिबद्धता समेत व्यक्त गरे ।
समानुपातिक उम्मेदवार आसरादेवी चौधरीले अहिलेको चुनाव भनेको देश जलाउने र देश बनाउने बिच रहेको हुँदा एमालेको उम्मेदवारलाई मनमा दुविधा नराखी निर्धक्कसंग मतदान गर्न आग्रह गरिन । एमालेले जनता र देशको शिर कहिले पनि झुक्न नदिने र बिकास र समृद्धिको पक्षमा सतिसाल झै अडिक भइ काम गर्ने पार्टी भएकोले बहकाउमा नलागी घरदैलो अभियानमा लाग्न कार्यकर्ताहरुलाई अनुरोध गरिन ।
कार्यक्रममा मधेस प्रदेश कमिटी सदस्य डिकबहादुर बिक , नेपाल मुश्लिम इतेहाद संगठनका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा संघ नेपाल कन्चनरुप कमिटीका नगर अध्यक्ष जैनुद्दिन मियाँ लगायतका वक्ताहरुले एमालेका उम्मेदवारहरुलाइ कसरी बढिभन्दा बढी मतले बिजयी गराउनका लागि सबै एक जुट भएर चुनाव प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिए ।
भेलाले १२ नम्बर वडा कमिटीका अध्यक्ष नारायण बाहादुर कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र भुवन बहादुर केसीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
नेकपा एमालेका १२ नम्बर वडा कमिटी अध्यक्ष कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव दिपक भट्टराईले गरेका थिए ।